images
images
  • नेपालले गाभीबाट ८ अर्ब ५९ करोडको खोप सहायता पाउने

    काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको महत्त्वपूर्ण कूटनीतिक पहल र संवादमार्फत नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ ।

    यसैगरी गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान गरिँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकम मिनाहा गराउन सफलता मिलेको छ ।

    मन्त्री मेहताको पहल तथा गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै मिनाहा प्राप्त हुनुले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ । नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण रहँदै आएको छ ।

    विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनी देखाइएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images