काठमाडौं – बाढीपहिरो र सडक अवरुद्ध हुँदा प्रभावित बनेको चितवनको सौराहाको पर्यटन व्यवसायमा दसैँको बिदासँगै पुनः चहलपहल बढेको छ । अनुकूल मौसम र लामो बिदाको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि होटल, रेस्टुरेन्ट र अन्य पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
दसैँ सुरुका दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि टीकापछि सौराहामा पर्यटकको चाप बढेको व्यवसायीले बताएका छन्। पछिल्ला दिनमा पर्यटकको आगमन बढेसँगै होटलको बुकिङ, जङ्गल सफारी र अन्य पर्यटकीय गतिविधिमा व्यस्तता थपिएको छ ।
सौराहामा पर्यटन व्यवसाय गर्दै आएका गोकर्ण गिरीका अनुसार पर्यटकको चहलपहल बढेपछि लामो समय सुस्ताएको व्यवसायमा उत्साह फर्किएको छ । उनका अनुसार सौराहाका होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा पाहुनाको आवागमन बढेको छ भने पर्यटक घुमफिर र मनोरञ्जनका गतिविधिमा व्यस्त देखिन्छन् ।
“अहिले सौराहामा रहेका पर्यटन व्यवसायी सबै खुसी छन् । कोही सपिङ गर्न गएका छन्, कोही जङ्गल गएका छन्, कोही घुमफिरमा गएका छन् । सबैतिर चहलपहल र दौडधुप देखिन्छ,” गिरीले भने ।
सौराहास्थित वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले पनि दसैँका समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको बताए। उनका अनुसार पछिल्ला दुई–तीन दिनदेखि रिसोर्टका सबै कोठा भरिएका छन् । पाहुनाको सङ्ख्या बढेपछि कोठा व्यवस्थापन र बुकिङ मिलाउनसमेत कठिन भएको उनले जानकारी दिए ।
“पाहुनालाई कोठा पुर्याउन निकै मुस्किल भइरहेको छ । व्यवस्थापनमा व्यस्तता बढेको छ । अहिले नेपाली पर्यटक नै बढी देखिन्छन्,” सापकोटाले भने ।
पर्यटन व्यवसायी ऋषि तिवारीका अनुसार यसपटक दसैँको टीकापछिको समयमा गत वर्षको तुलनामा पर्यटकको आगमन राम्रो देखिएको छ । सार्वजनिक बिदा, चाडपर्व र अनुकूल मौसमले सौराहा भ्रमणका लागि पर्यटकलाई आकर्षित गरेको उनको भनाइ छ ।
सौराहा आउने पर्यटकका प्रमुख आकर्षणमा चितवन राष्ट्रिय निकुञ्जभित्रको जीप सफारी, राप्ती नदीमा डुङ्गा सयर, वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन र थारू सांस्कृतिक नाच रहेका छन्। पर्यटकको मागअनुसार विभिन्न सफारी तथा घुमफिरका गतिविधि सञ्चालन भइरहेको तिवारीले बताए ।
“यसपटक मेरो अनुभवमा गत वर्षको भन्दा पनि राम्रोसँग पाहुनाहरू सौराहा आउने क्रम बढेको छ,” उनले भने । पर्यटकको आगमनमा आएको सुधारले व्यवसायीलाई राहत मिलेको र आगामी दिनमा पनि चहलपहल कायम रहने अपेक्षा बढाएको उनको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले पनि दसैँको बिदामा सौराहालगायत चितवनका पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या बढेको बताए। उनका अनुसार आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकको आगमनले पनि व्यवसायीमा उत्साह थपेको छ ।
घिमिरेले भोटेकोशीमा आएको बाढीलगायतका प्राकृतिक विपत्तिका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको बताए । बाढीपहिरो र सडकको अवस्थाले पर्यटकका बुकिङ प्रभावित भए पनि पछिल्लो समय आगमनमा सुधार देखिन थालेको उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक सौराहा निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थल हो। वन्यजन्तु अवलोकन, सफारी र थारू संस्कृतिका कारण परिचित सौराहामा पर्यटकको आगमन बढ्नुले बाढीपहिरोबाट प्रभावित पर्यटन व्यवसायलाई पुनः गति दिने अपेक्षा गरिएको छ ।






















