काठमाडौं । आजकल बजारमा ऊर्जा र स्फूर्तिको पर्याय भन्दै विभिन्न ब्रान्डका ‘इनर्जी ड्रिंक’हरूको प्रचार तथा उपभोग निकै बढेको छ । मानिसहरूको कामको धपेडी, लामो यात्रा वा खेलकुदका बेला शरीरलाई तुरुन्तै रिल्याक्स गर्न धेरैले यस्ता पेय पदार्थ रोज्ने गर्छन् । बजारमा पाइने यस्तै एउठा चर्चित ब्रान्ड हो ‘एक्स्ट्रिम’ ।
तर, शरीरलाई ‘एक्स्ट्रिम’ ऊर्जा दिने दाबी गरिएको यो नीलो र चाँदी रंगको आकर्षक क्यानभित्र वास्तवमा के–के कुरा मिसाइएका छन् ? ती पदार्थ कसरी बन्छन् ? के तपाईंले क्यानको लेबलमा उल्लेख गरिएको पदार्थको विषयमा राम्रोसँग हेर्नुभएको छ ?
प्रयोगशालामा वैज्ञानिक प्रविधिबाट तयार पारिने यी पदार्थहरूले मानव शरीरमा पुगेपछि विशेष किसिमले काम गर्छन् । क्यानको बाहिरी लेबलमा उल्लेख गरिएका विवरण अनुसार एक्स्ट्रिममा कार्बोनेटेड पानी, क्याफिन, टाउरिन, चिनीका विभिन्न रूपहरू र कृत्रिम भिटामिनहरूको समिश्रण गरिएको छ ।
के-के पदार्थ मिसाइएको छ ?
एक्स्ट्रिम इनर्जी ड्रिंकमा रासायनिक र प्राकृतिक दुवै स्रोतबाट प्रशोधन गरिएका विभिन्न तत्वहरू मिसाइएका हुन्छन् । यसको मुख्य सक्रिय तत्व क्याफिन र टाउरिन हो, जसलाई प्रयोगशालामा रासायनिक सिन्थेसिस मार्फत शुद्ध रूपमा तयार पारिन्छ । पेय पदार्थलाई गुलियो स्वाद र क्यालोरी दिनका लागि मकैको स्टार्चबाट इन्जाइमको सहयोगमा उत्पादन गरिने ग्लुकोज–फ्रुक्टोज सिरप र डेक्सट्रोज जस्ता चिनीको प्रयोग गरिन्छ ।
यसको अमिलोपन र स्वादलाई सन्तुलित राख्न ‘अस्परजिलस नाइजर’ नामक विशेष फङ्गस (ढुसी) को प्रयोग गरी चिनीलाई फर्मेन्टेसन गराएर बनाइने ‘सिट्रिक एसिड’ (इ३३०) र ‘सोडियम सिट्रेट’ (इ३३१) जस्ता अम्लीयता नियन्त्रक राखिएको हुन्छ । शरीरको चयापचय प्रक्रियालाई सघाउन यसमा ब्याक्टेरिया वा इस्ट को प्रयोग गरी बायो–सिन्थेसिस प्रविधिबाट बनाइने कृत्रिम भिटामिन बी३, बी५, बी६ र बी१२ थपिएको हुन्छ ।
यसमा पेय पदार्थलाई लामो समयसम्म खराब हुन नदिन सोडियम बेन्जोएट (इ२११) जस्ता संरक्षक पदार्थ र आकर्षक देखाउन क्यारामेल रंग (इ१५०डी) को समिश्रण गरिएको छ । मुख्य घोलकको रूपमा साधारण शुद्ध पानीमा उच्च चाप प्रयोग गरेर कार्बनडाइअक्साइड ग्यास घोलाएर बनाइने कार्बोनेटेड पानी यसमा प्रयोग हुन्छ ।
ती पदार्थले के काम गर्छन् ?
यस पेय पदार्थमा रहेका प्रत्येक तत्वले मानव शरीरमा पुगेपछि भिन्न–भिन्न र क्रमिक रूपमा काम गर्छन् । यसमा रहेको क्याफिनले मस्तिष्कमा अल्छीपन पैदा गर्ने ‘एडेनोसिन’ नामक रसायनलाई ब्लक गरिदिन्छ, जसका कारण केन्द्रीय स्नायु प्रणाली उत्तेजित भई तत्कालै निन्द्रा भाग्ने र सतर्कता बढ्ने काम हुन्छ ।
एक प्रकारको एमाइनो एसिड मानिने टाउरिनले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन मिलाउन र स्नायु प्रणालीको कार्यप्रणालीलाई मद्दत गर्छ, जसले गर्दा मांसपेशीको कार्यक्षमता केही समयका लागि तीव्र बन्छ ।
ग्लुकोज-फ्रुक्टोज सिरप र डेक्सट्रोज रगतमा निकै तीव्र गतिमा समाहित भएर शरीरका कोषिकाहरूलाई तत्कालै ऊर्जा (क्यालोरी) प्रदान गर्ने काम गर्छन् । सिट्रिक एसिड र सोडियम सिट्रेटले पेय पदार्थको पीएच मान नियन्त्रण गरी स्वाद बढाउने र यसलाई लामो समयसम्म जीवाणुहरूबाट सुरक्षित राख्ने काम गर्छन् ।
भिटामिन बी समूहले हामीले खाएको खानालाई ऊर्जामा बदल्न र स्नायु कोषहरूलाई स्वस्थ राख्न इन्जाइमको रूपमा काम गर्छन् । त्यस्तै, सोडियम बेन्जोएट जस्ता संरक्षक पदार्थले पेय पदार्थमा हानिकारक ब्याक्टेरिया वा ढुसी पलाउन दिँदैनन्, जसका कारण यो पेय पदार्थ लामो समयसम्म खराब हुँदैन । यसको उपभोग म्याद नै २४ महिना तोकिएको छ ।
यसरी हेर्दा, ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंक विभिन्न रासायनिक पदार्थहरूको एउटा यस्तो वैज्ञानिक समिश्रण हो, जसले मस्तिष्क र स्नायु प्रणालीलाई केही समयका लागि कृत्रिम रूपमा उत्तेजित पारेर ऊर्जावान् बनाएको भ्रम पैदा गर्छ ।





















