जाजरकोट– जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।
जिप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा चालक जुनिचाँदे–९ का २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे–३ की ३० वर्षीया विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा विपनाका श्रीमान् दिलबहादुर भण्डारी, चार वर्षीय छोरा शिशिर भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























