images
images
  • २२ अर्बको तटबन्ध चुनौतीबीच नारायणी किनारलाई सुन्दर बनाउने योजना

    काठमाडौं – नारायणी नदीको बाढीले नारायणगढ बजार आसपासका संरचना बगाउने र बस्तीमा जोखिम बढाउने क्रम रोकिएको छैन । हरेक वर्ष बाढी र कटानको त्रास झेल्नुपर्ने अवस्थाबीच अहिले नदी किनारलाई व्यवस्थित र आकर्षक बनाउने योजना अघि सारिएको छ । तर नारायणी किनारलाई मनोरञ्जनस्थलका रूपमा विकास गर्नुअघि नदीलाई सुरक्षित बनाउने चुनौती छ, जसका लागि २२ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

    नारायणी नदीमा असोज ११ गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवन र नवलपरासीतर्फ गरी ६० किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको छ । चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ४५ किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने अध्ययनको निष्कर्ष छ । तर यति ठूलो संरचना निर्माणका लागि आवश्यक बजेट जुटाउन नसके नदी कटानको जोखिम आगामी वर्ष पनि कायम रहने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले जनाएको छ ।

    नदीको बाढी बजार क्षेत्रमा पसेपछि नारायणगढ बजार संरक्षणको विषय फेरि चर्चामा आएको हो। उद्योग वाणिज्य सङ्घ चितवनको प्रतिनिधिमण्डलले बजार जोगाउन र नदी तटीय क्षेत्रलाई व्यवस्थित गर्न माग गर्दै प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेको थियो। त्यसपछि लामिछानेको आग्रहमा पूर्वाधार विकास मन्त्रालयले नदी किनारको गुरुयोजना तयार गर्न कार्यदल गठन गरेको हो ।

    रास्वपाका केन्द्रीय कोषाध्यक्ष डा. मनोहर प्रधानका अनुसार कार्यदलले स्थलगत अध्ययन र सरोकारवालासँग छलफल थालेको छ । नारायणगढ बजारसँगै रहेको नदी तटीय क्षेत्रलाई तटबन्धसहित व्यवस्थित गर्ने, सौन्दर्यीकरण गर्ने र सर्वसाधारणले फुर्सद बिताउन सक्ने स्थलका रूपमा विकास गर्ने गुरुयोजनाको उद्देश्य छ ।

    तर कार्यदलको प्रारम्भिक अध्ययनले सौन्दर्यीकरणभन्दा पहिले नदी किनारको सुरक्षा सुनिश्चित गर्नुपर्ने देखाएको छ । सहरी विकास तथा भवन निर्माण विभागका वरिष्ठ डिभिजनल इन्जिनियर दीपक श्रेष्ठको संयोजकत्वमा असोज २३ गते गठन भएको कार्यदलले भरतपुर महानगरपालिका, उद्योग वाणिज्य सङ्घ चितवन र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्रतिनिधिसँग छलफल गरिसकेको छ ।

    “पहिला नदीलाई तटबन्धबाट सुरक्षित गरी सौन्दर्यीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ भएको छ,” कार्यदलका संयोजक श्रेष्ठले भने । नदी नियन्त्रणका लागि आवश्यक तटबन्ध निर्माणबारे सम्बन्धित आयोजनासँग छलफल भइरहेको उनले जानकारी दिए ।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरका सूचना अधिकारी सागर पौडेलका अनुसार तटबन्ध निर्माण गर्न वर्तमान बजार मूल्यअनुसार २२ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । नदीबाट थप क्षति हुन नदिन तत्काल मर्मत तथा संरक्षणका काम गर्न मात्रै करिब ६ अर्ब रुपैयाँ आवश्यक रहेको आयोजना प्रमुख डा. नारायणप्रसाद सुवेदीले बताएका छन् ।

    यसले नारायणी किनारको विकास योजनालाई केवल सौन्दर्यीकरणको विषयमा सीमित राख्न नसकिने देखाएको छ । नदीको कटान नियन्त्रण, बस्तीको सुरक्षा र तटीय क्षेत्रको व्यवस्थित विकासलाई एकै योजनामा समेट्नुपर्ने आवश्यकता छ । चितवन र नवलपरासीतर्फ तटबन्ध निर्माण हुन बाँकी रहेका क्षेत्रमा एकीकृत रूपमा काम गर्नुपर्ने सुझाव पनि सरोकारवालाले दिएका छन् ।

    स्थानीयसमेत रहेका डा। प्रधानले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम अघि बढाइने बताए । कार्यदलले अध्ययन पूरा गरेपछि गुरुयोजनाका आधारमा नदी किनारको विकास अघि बढाउने तयारी छ ।

    नारायणी किनारलाई सुन्दर र व्यवस्थित बनाउने योजना आकर्षक देखिए पनि त्यसको सफलता बजेट व्यवस्थापन र तटबन्ध निर्माणको प्रगतिमा निर्भर हुनेछ । तत्काल संरक्षणका लागि आवश्यक भनिएको ६ अर्ब रुपैयाँ र दीर्घकालीन तटबन्धका लागि अनुमान गरिएको २२ अर्बभन्दा बढी रकमको व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न अझै बाँकी छ। समयमै काम अघि नबढे नारायणगढ बजार र आसपासका बस्तीले आगामी बर्खामा पनि उही जोखिम सामना गर्नुपर्ने हुन सक्छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images