images
images
  • संसदीय सुनुवाइ समितिले किन गर्‍यो २ राजदूत अस्वीकृत ?

    काठमाडौं– संसदीय सुनुवाइ समितिले सरकारले सिफारिस गरेका १३ मध्ये १० जना राजदूतको नाम अनुमोदन गरेको छ ।

    समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको हो ।

    जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाबारे थप कागजात अध्ययनपछि निर्णय गर्ने भएको छ ।

    खुला प्रतिस्पर्धाबाट सिफारिस गरिएको भनिएका उम्मेदवारमाथि गम्भीर उजुरी परेपछि समितिले उनीहरूको योग्यता र नैतिक चरित्रमाथि प्रश्न उठाउँदै नाम अस्वीकृत गरेको हो ।

    खरेलमाथि स्वार्थको द्वन्द्व र आर्थिक लेनदेनसम्बन्धी आरोप लागेका थिए भने सुनारमाथि महिला हिंसा, धम्की तथा आर्थिक अनियमिततासम्बन्धी आरोप उठेका थिए ।

    सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले समान रूपमा प्रश्न उठाएपछि समितिले सरकारको सिफारिसमाथि कडाइका साथ परीक्षण गरेको हो ।

    आफ्नै नेतृत्वको सरकारले गरेको सिफारिससमेत अस्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको समितिले संसदीय सुनुवाइको अधिकार प्रयोग गरेको देखिएको छ ।

    पूर्वसंसद् पदाधिकारीहरूका अनुसार राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको यो पहिलो घटना हो ।

    यसअघि प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत भएको थियो भने विवादमा परेका केही उम्मेदवारले नाम फिर्ता लिएका थिए ।

    समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा। मञ्चला झाको नाम अनुमोदन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images