काठमाडौं– होर्मुज जलमार्गमा सिंगापुरको झण्डावाल दुई कन्टेनर जहाजमाथि आक्रमण हुँदा एउटा डुबेको छ भने अर्को क्षतिग्रस्त भएको छ ।
घटनामा दुवै जहाजका चालक दलका सबै ४३ सदस्य सुरक्षित रहेका छन् ।
समुद्री तथा बन्दरगाह प्राधिकरणका अनुसार अक्टोबर १३ मा आक्रमणमा परेको जीएफएस प्राइड जहाजमा आगलागी भएपछि डुबेको हो ।
जहाजमा सवार २१ जना चालक दलका सदस्यको सुरक्षित उद्धार गरिएको थियो ।
त्यस्तै, अक्टोबर १४ मा जीएफएस जिसेल जहाज अज्ञात प्रक्षेप्यास्त्रको निशानामा परेको थियो ।
जहाजको बाहिरी संरचनामा क्षति पुगे पनि आफ्नै इन्जिनको सहायताले सुरक्षित स्थानमा पुग्न सफल भएको थियो ।
त्यसमा सवार २२ जना पनि सुरक्षित छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जीएफएस प्राइड समुद्री बारुदी सुरुङमा ठोक्किएर डुबेको दाबी गरेको छ ।
उसले जहाज अनुमति नदिइएको जोखिमपूर्ण मार्गबाट अघि बढेको आरोपसमेत लगाएको छ ।
घटनापछि आईआरजीसीले समुद्रमा तैरिरहेका कन्टेनरबाट टाढा रहन स्थानीय जहाज, डुंगा र माझीलाई आग्रह गरेको छ ।
ती कन्टेनरले अन्य जहाजको आवागमनमा जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।
दुवै जहाजको व्यवस्थापन तथा सञ्चालन संयुक्त अरब इमिरेट्सको एक कम्पनीले गर्दै आएको थियो ।
जहाजमा सिंगापुरका नागरिक चालक दलका सदस्य भने थिएनन् ।























