images
images
  • चाडपर्वमा इन्धनको चिन्ता नगर्न आयल निगमको आग्रह

    काठमाडौं – चाडपर्वका बेला पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको अनुगमनलाई तीव्र बनाएको छ । नेपाल आयल निगमले जिल्लामा पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ भने ग्यास उद्योगले मागभन्दा बढी उत्पादन भइरहेको जानकारी दिएको छ ।

    नेपाल आयल निगम चारआलीका प्रमुख उमेशकुमार पोखरेलका अनुसार झापामा पेट्रोलियम पदार्थको आपूर्ति सामान्य अवस्थामा छ । चाडपर्वका बेला इन्धनको माग बढ्न सक्ने भएकाले उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन प्रशासनले सम्बन्धित निकायसँग समन्वय र अनुगमनलाई प्राथमिकता दिएको छ ।

    जिल्लामा दैनिक करिब पाँच हजार ५०० सिलिन्डर खाना पकाउने ग्यासको माग रहेकामा पराजुली ग्यास उद्योगबाट दैनिक सात हजार ६०० सिलिन्डर उत्पादन भइरहेको उद्योगका सञ्चालक जितबहादुर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो दुई महिनामा नियमित खपतको तुलनामा करिब ४० प्रतिशत बढी ग्यास बजारमा खपत भएको छ ।

    चाडपर्वका समयमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले ग्यास तथा पेट्रोलियम पदार्थको उपलब्धताबारे समीक्षा गर्दै उपभोक्ताले सहज रूपमा इन्धन पाउने व्यवस्था मिलाउन आवश्यक समन्वय गर्न जोड दिएका छन् ।

    नियमित आपूर्ति सुनिश्चित गर्ने विषयमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सुरक्षा निकाय, नेपाल आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन तथा ग्यास विक्रेता सङ्घका प्रतिनिधि सहभागी थिए । बैठकमा चाडपर्वका बेला इन्धनको वितरण व्यवस्थित बनाउने र कृत्रिम अभाव हुन नदिने विषयमा छलफल भएको थियो ।

    प्रशासनले बजारमा इन्धनको उपलब्धता र वितरण प्रणालीलाई नियमित निगरानीमा राख्दै उपभोक्तालाई अनावश्यक सास्ती हुन नदिन सम्बन्धित निकायबीच समन्वयमा जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images