काठमाडौं – पोखरा, भरतपुर र लुम्बिनीलाई जोडेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणाअन्तर्गत संयुक्त पर्यटन प्रवर्द्धनको पहल अघि बढाइएको छ । तीनवटै स्थानीय तहले पर्यटन विकास, पर्यटकको बसाइ लम्ब्याउने तथा साझा बजार विस्तार गर्ने उद्देश्यसहित आपसी सहकार्यलाई कार्यान्वयनमा लैजान थालेका हुन् ।
पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच गत जेठ २६ गते भएको समझदारीअनुसार पर्यटन प्रवर्द्धनका साझा कार्यक्रम अघि बढाउन लागिएको हो । यसअन्तर्गत भरतपुर महानगरपालिकाले सोमबार सरोकार भएका पक्षसँग अन्तरक्रिया गरी सुझाव सङ्कलन र आगामी कार्ययोजनाबारे छलफल गरेको छ ।
कार्यक्रममा तीनै स्थानीय तहका जनप्रतिनिधि, प्रशासक, निजी क्षेत्रका प्रतिनिधि तथा पर्यटन व्यवसायीले पोखरा, भरतपुर र लुम्बिनीको धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनलाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिकता, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई संस्कृतिसँग जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । उनले पर्यटकीय पूर्वाधार निर्माणसँगै सरसफाइ र वातावरणीय स्वच्छतामा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटनमार्फत तीनवटै सहरको अर्थतन्त्र समृद्ध बनाउने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’को अवधारणा अघि सारिएको बताए । गत जेठमा भएको समझदारीअनुसार महानगरको नीति, योजना तथा कार्यक्रममा पनि यो अवधारणा समेटिएको उनले जानकारी दिए ।
“अब व्यवसायदेखि व्यवसाय (बीटुबी) र सरकारदेखि सरकार (जीटुजी) सहकार्यलाई ठोस रूपमा अगाडि बढाउनुपर्छ,” आचार्यले भने, “नेपाल आउने पर्यटकले पोखरा, चितवन र लुम्बिनी एकैपटक घुम्न सक्ने गरी कनेक्टिभिटी र पर्यटकीय सेवासुविधा विस्तारमा जोड दिनुपर्छ ।”
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि निजी क्षेत्रको लगानी प्रोत्साहन गर्नुपर्ने बताइन् । उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न सामूहिक पहल आवश्यक रहेको उल्लेख गरिन् ।
पोखरा भ्रमण वर्ष २०२५–२०२६ का संयोजक गोपी भट्टराईले पर्यटन प्रवर्द्धनमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । प्राकृतिक विपद्का कारण पर्यटन क्षेत्रमा असर परिरहेको उल्लेख गर्दै उनले नेपाल खुला र सुरक्षित गन्तव्य हो भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको बसाइ लम्ब्याउने योजना बनाउनुपर्ने बताए । चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले तीनवटै स्थानीय तहबीच व्यावसायिक सञ्जाल विस्तार र संयुक्त प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्ने बताए । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नेपालको पहिचानसँग जोडिएका तीनवटै गन्तव्यको प्रवर्द्धनका लागि सहकार्य र साझेदारी आवश्यक रहेको उल्लेख गर्दै छिट्टै ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला’ अर्थात् ट्राभल मार्ट आयोजना गरिने जानकारी दिए ।
समझदारीअनुसार तीनवटै स्थानीय तहले प्रत्येक वर्ष पालैपालो पर्यटन मेला आयोजना गर्ने, आवश्यकताअनुसार बीटुबी तथा जीटुजी बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान चलाउनेछन् ।
त्यस्तै, संयुक्त ब्रोसर, भिडियो र डिजिटल सामग्री उत्पादन तथा वितरण गर्ने, डिजिटल सूचना बोर्ड स्थापना गर्ने र पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य विस्तार गर्ने योजना छ । सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग समन्वय गरिने समझदारीपत्रमा उल्लेख छ ।
तीनवटै गन्तव्यलाई समेटेर एकीकृत पर्यटक प्याकेज विकास गर्ने योजनाअनुसार भरतपुर महानगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको डिजिटल सूचना बोर्डको सोमबार शुभारम्भ गरिएको छ ।
‘सिल्भर ट्रयाङ्गल’ अवधारणाले पोखराको साहसिक पर्यटन, भरतपुरको प्राकृतिक तथा वन्यजन्तु पर्यटन र लुम्बिनीको धार्मिक तथा सांस्कृतिक पर्यटनलाई एउटै यात्रामा जोड्ने लक्ष्य राखेको छ । यसको प्रभावकारी कार्यान्वयनले पर्यटकको बसाइ अवधि बढाउन, निजी क्षेत्रको व्यावसायिक सञ्जाल विस्तार गर्न र तीनवटै गन्तव्यको संयुक्त पहिचान स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।























