काठमाडौं – बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस दसैँ मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहल बढेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन् । कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले राष्ट्रिय समाचार समिति ९रासस० लाई उक्त जानकारी दिनुभएको हो ।
उनका अनुसार सबैभन्दा धेरै यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन् । उक्त नाकाबाट २७ हजार ६४९ जना बाहिरिएका छन् । त्यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५, फर्पिङबाट पाँच हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोट नाकाबाट ५६ जना बाहिरिएका छन् ।
दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन घर फर्किनेको सङ्ख्या बढेसँगै सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ । लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रुको चहलपहल बढेपछि यातायात व्यवस्थापनमा समेत चुनौती देखिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सवारीसाधन व्यवस्थापनमा समस्या भएको बताउनुभयो । राष्ट्रिय राजमार्गमा देखिएका अवरोधका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन कठिनाइ भइरहेको उहाँको भनाइ छ ।
“दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौं आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,” गौतमले भने ।
उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए । यसले दसैँका लागि सवारीसाधन व्यवस्थापनमा थप कठिनाइ भएको महासङ्घले जनाएको छ ।
महासङ्घले यात्रुलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादरअनुसार भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैँमा परिवार र आफन्तसँग भेटघाट गर्ने तथा परम्पराअनुसार चाडपर्व मनाउने चलनका कारण हरेक वर्ष राजधानीबाट घर फर्किने यात्रुको सङ्ख्या बढ्ने गर्छ । यस वर्ष पनि चाडपर्व नजिकिएसँगै उपत्यकाका नाकामा यात्रुको चाप बढ्न थालेको छ ।






















