images
images
  • भकिम्लीको जयन्ती मावि आवासीय विद्यालयमा रूपान्तरण

    काठमाडौं – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालयलाई समुदायको अगुवाइ र नगरपालिकाको सहयोगमा आवासीय विद्यालयका रूपमा सञ्चालन गर्न थालिएको छ । दुर्गम टोलका विद्यार्थी, विपन्न परिवारका बालबालिका तथा अभिभावकविहीन र पारिवारिक समस्यामा परेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले विद्यालयमा छात्रावास सञ्चालन गरिएको हो ।

    विद्यालयका प्रधानाध्यापक मनबहादुर पुनका अनुसार नयाँ शैक्षिक सत्रदेखि सुरु गरिएको छात्रावासमा विद्यार्थीलाई निःशुल्क खाने र बस्ने व्यवस्था मिलाइएको छ । कमजोर विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नु पनि आवासीय विद्यालय सञ्चालनको उद्देश्य रहेको उनले बताए ।

    “अभिभावक नभएका, पारिवारिक समस्यामा परेका र विपन्न समुदायका बालबालिकालाई निःशुल्क खाने, बस्ने व्यवस्थासहित छात्रावास सञ्चालन गरेका हौँ,” प्रधानाध्यापक पुनले भन्नुभयो, “नगरपालिकाको सिफारिसमा अन्य वडाका बालबालिकालाई समेत छात्रावासको सुविधा दिने व्यवस्था मिलाएका छौँ ।”

    विद्यालय भवनको भुइँतलाका दुई कोठामा छात्र र छात्राका लागि छुट्टाछुट्टै आवासको व्यवस्था गरिएको छ । हाल दुई छात्रासहित आठ जना विद्यार्थी छात्रावासमा बस्दै आएका छन् । छात्रावासमा बस्ने विपन्न विद्यार्थीलाई खाना र आवाससँगै पोसाक, सरसफाइ सामग्री, झोला, कापी र कलमसमेत निःशुल्क उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।

    विद्यालयले छात्रावासमा बस्ने विद्यार्थीबाहेक आसपासका विद्यार्थीलाई लक्षित गरी दिवा छात्रावास र अतिरिक्त कक्षा पनि सञ्चालन गरेको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त व्यवस्थाबाट ३० जना विद्यार्थी लाभान्वित भएका छन् ।

    दिवा छात्रावास र अतिरिक्त कक्षाले विद्यार्थीको पढाइमा सहयोग पुगेको विद्यालयको भनाइ छ । बेनी नगरपालिका–३ हल्लेगौडाकी अस्मी घर्तीमगरले छात्रावासको सुविधाले दैनिक दुई घण्टा पैदल हिँडेर विद्यालय आउनुपर्ने बाध्यता हटेको बताउनुभयो । कक्षा ८ मा अध्ययनरत उनले छात्रावासबाट नियमित अध्ययन गर्न सहज भएको अनुभव सुनाए ।

    कक्षा १० सम्म पठनपाठन हुने जयन्ती माविमा हाल १२१ जना विद्यार्थी अध्ययनरत छन् । छात्रावास सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना शिक्षकलाई अतिरिक्त सुविधा दिएर जिम्मेवारी तोकिएको छ । विद्यालयनजिक घर भएका शिक्षकले आलोपालो गरी छात्रावासका विद्यार्थीलाई पढाउने गरेका छन् ।

    छात्रावास सञ्चालनका लागि हालसम्म समुदायस्तरबाट सहयोग जुटाएर भान्छेको तलब, खाद्यान्न र तरकारीको व्यवस्थापन गरिएको छ । छात्रावास र दिवा खाजाका लागि आवश्यक तरकारी उत्पादन गर्न विद्यालयले प्लास्टिक घर निर्माण गरी खेतीसमेत सुरु गरेको शिक्षक डेक घर्तीले बताए ।

    बेनी नगरपालिकाले विद्यालयलाई आवासीय सुविधासहित सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार छात्रावास सञ्चालन तथा व्यवस्थापनका लागि नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ मा सात लाख रुपैयाँ विनियोजन गरेको छ ।

    समुदायको सक्रियता, विद्यालयको पहल र स्थानीय सरकारको सहयोगमा सुरु गरिएको आवासीय सुविधाले भौगोलिक विकटता, आर्थिक अभाव र पारिवारिक समस्याका कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकालाई नियमित अध्ययनको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images