काठमाडौं – बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल तृतीयाका दिन दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा, ध्यान र उपासना गर्ने धार्मिक परम्परा छ ।
चन्द्रमाको आधार भएको घण्टा धारण गर्ने देवी भएकाले उहाँको नाम चन्द्रघण्टा रहन गएको धार्मिक ग्रन्थमा उल्लेख छ। मार्कण्डेय पुराणमा समेत चन्द्रघण्टा देवीको स्वरूप र नामबारे व्याख्या गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा देवीको आराधना गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। त्यसैले भक्तजनले नौ दिनसम्म विभिन्न स्वरूपका दुर्गा देवीको विधिपूर्वक पूजा आराधना गर्ने गर्छन् ।
धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीको स्वरूप शान्त, करुणामयी र शक्तिशाली छ। उहाँले अत्याचारी तथा दानवी शक्तिको नाश गर्ने विश्वास गरिन्छ। चन्द्रघण्टा देवीको पूजा गर्दा मणिपुर चक्रमा ध्यान केन्द्रित गर्ने परम्परा पनि रहेको छ ।
वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाले पाप नाश हुने र शक्ति प्राप्त हुने उल्लेख छ। गीतसङ्गीत क्षेत्रमा संलग्न व्यक्तिले पनि यस दिन देवीको विशेष आराधना गर्ने धार्मिक परम्परा रहेको उनले बताए ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको थियो। त्यस दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा गरिएको थियो भने दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत् तथा अन्य देवी स्तोत्र पाठ गर्ने चलन छ। धार्मिक विश्वासअनुसार यस अवधिमा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीका विभिन्न स्वरूपको पूजा आराधना गर्छन् । नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।
नवरात्रका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको चहलपहल बढ्ने गर्छ। कतिपय भक्तजनले नौ दिनमा नौवटा शक्तिपीठ पुगेर दर्शन गर्ने धार्मिक परम्परासमेत पालना गर्दै आएका छन् ।
नवदुर्गाको आराधनासँगै दसैँको धार्मिक र सांस्कृतिक महत्त्व जोडिएको छ। नवरात्रमा पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्पराअनुसार नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।























