images
images
  • १५ दिनपछि सञ्चालनमा आयो मालढुंगा पुल, दसैँमा यात्रुलाई राहत

    काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि १५ दिनदेखि बन्द रहेको बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल सोमबारदेखि सञ्चालनमा आएको छ । पुलको पर्वततर्फको पहुँचमार्ग निर्माण सम्पन्न भएपछि यातायात पुनः सञ्चालनमा आएको हो ।

    सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोली र दर्जनौँ कामदारले चौबीसै घण्टा काम गरेपछि सोमबार बिहान १० बजेदेखि पुल सञ्चालनमा ल्याइएको हो। पुल खुलाउन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन भएका थिए ।

    दसैँको मुखमा मुख्य सडक पुल बन्द हुँदा बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालका विभिन्न जिल्लाको आवागमन तथा ढुवानी प्रभावित भएको थियो। अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत समस्या हुँदा बागलुङ बजारमा महँगी बढेको थियो ।

    पर्यटन र व्यापारमा ठूलो असर

    मालढुंगा पुल बन्द हुँदा बागलुङको व्यापार, होटल व्यवसाय र पर्यटन क्षेत्र प्रभावित भएका थिए । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर, पञ्चकोट र ढोरपाटन जाने पर्यटकको आवागमनसमेत घटेको थियो ।

    बागलुङ कालिका मन्दिरमा घटस्थापनाका दिन विगतका वर्षमा १० हजारभन्दा बढी भक्तजन आउने गरेकामा यस वर्ष दुई हजारसमेत पुग्न मुस्किल परेको मन्दिर व्यवस्थापन समितिका लेखापाल दुर्गा खत्रीले जानकारी दिए। बाढीपहिरो र सडक अवरुद्ध हुँदा बाहिरी जिल्लाबाट आउने भक्तजन तथा पञ्चबलि दिन आउनेको सङ्ख्यासमेत घटेको उनले बताए ।

    कालीगण्डकी नदीमा असोज ११ गते आएको बाढीले पुलमा क्षति पुर्‍याएपछि पोखरा र पर्वततर्फबाट बागलुङ जाने सीधा यातायात प्रभावित भएको थियो। मालढुंगादेखि मुस्ताङ जाने सडकसमेत अवरुद्ध हुँदा मुक्तिनाथ र कागबेनीमा श्राद्ध गर्न जाने तीर्थयात्रीको आवागमन घटेको थियो ।

    होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बाढीपहिरो र सडक अवरोधका कारण एक महिनादेखि बागलुङका होटल व्यवसाय सुस्ताएको बताए । पुल सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढ्ने र व्यवसाय पुरानै लयमा फर्किने अपेक्षा गरिएको उनले बताए ।

    दुई प्रमुख सडकको महत्त्वपूर्ण केन्द्र

    मालढुंगा पुल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका लागि महत्त्वपूर्ण यातायात केन्द्र हो। यही पुल हुँदै यात्रु तथा मालवाहक सवारीसाधनले दुई प्रमुख सडकमा आवागमन गर्दै आएका छन् ।

    पुल सञ्चालनमा आएसँगै दसैँमा घर फर्किने यात्रु, स्थानीय बासिन्दा, व्यवसायी र पर्यटकलाई राहत मिल्ने अपेक्षा गरिएको छ । लामो समयको अवरोधपछि यातायात खुलेसँगै प्रभावित क्षेत्रको जनजीवन र आर्थिक गतिविधि क्रमशः सामान्य बन्ने आशा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images