images
images
  • भसभसे पहिरोले बागलुङ–बेनी सडक जोखिममा, घण्टौँ जाम

    काठमाडौं – म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । लगातारको वर्षापछि नदी कटानले सडक भासिने र दबिने क्रम बढ्दा यातायात सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

    गत असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभाननजिकै रहेको भसभसेमा सडक क्षतिग्रस्त भएको हो । नदी कटान र पहिरोका कारण सडकको करिब एक सय मिटर खण्ड साविकको सतहभन्दा दुईदेखि तीन मिटर भासिएको छ । सडकमा हिलो जम्ने र सवारीसाधन फस्ने समस्या बढेपछि यात्रु तथा चालकले सास्ती भोगिरहेका छन् ।

    पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित सडक पुलको पहुँचमार्ग कालीगण्डकी नदीले बगाएपछि वैकल्पिक मार्गका रूपमा बागलुङ–बेनी–मालढुङ्गा सडकमा सवारीसाधनको चाप बढेको छ । मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटबाट पोखरा तथा काठमाडौँ आवतजावत गर्ने सवारीसाधनले समेत यही सडक प्रयोग गरिरहेका छन् ।

    सडक साँघुरो हुनु र भासिएको खण्डमा सवारीसाधन फस्नुले यातायात व्यवस्थापन थप कठिन बनेको छ । बेनी नगरपालिका–२, खबराका कमल सुवेदीका अनुसार सडकमा गाडी फस्ने, उकालो चढ्न नसक्ने र सवारीसाधनको लामो जाम लाग्ने समस्या देखिएको छ ।

    “नदी कटान र पहिरोका कारण करिब एक सय मिटर सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको र दबिएको छ,” सुवेदीले भने, “सवारीसाधनको चाप बढेकाले घण्टौँसम्म जाम हुने गरेको छ ।”

    भसभसेको समस्या समाधान गर्न सडक डिभिजन कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/८२ मा भूमिगत पानी व्यवस्थापन र हिलो हुने भागमा ढलान गरेको थियो । तर, हाल उक्त ढलान गरिएको सडकसमेत भासिएपछि यसअघिको प्रयास प्रभावकारी हुन सकेको छैन ।

    जिल्ला समन्वय समिति, म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सडक डिभिजन कार्यालयले मर्मत तथा उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समस्या समाधान गर्न कठिन भएको बताए । सडकमा ग्राभेल राख्दा पनि जमिन दबिने क्रम नरोकिएको उनको भनाइ छ ।

    “सडक डिभिजनले ग्राभेल राखे पनि दबिएर भोलिपल्ट फेरि पुरानै अवस्था हुन्छ,” खत्रीले भने, “सडक भासिने र दबिने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोगमा तार्ने गरिएको छ ।”

    भसभसे पहिरोले सडकमा मात्रै नभई नजिकै रहेको खबरा गाउँमा समेत जोखिम बढाएको छ । नदी कटान र पहिरोको निरन्तर प्रभावले बस्तीको सुरक्षामा समेत चिन्ता थपिएको छ ।

    समस्या दीर्घकालीन रूपमा समाधान गर्न म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पक्की पर्खालसहित तटबन्ध निर्माण गर्ने, पहिरोग्रस्त क्षेत्रमा सडकको सतह मिलाउने र सडकलाई पक्की बनाउने पहल भइरहेको कार्यवाहक प्रमुख खत्रीले बताए ।

    वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको बागलुङ–बेनी सडकको भसभसे खण्ड सुरक्षित र भरपर्दो नबनाएसम्म यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भइरहने देखिन्छ । त्यसैले तत्काल यातायात व्यवस्थापनसँगै पहिरोको दीर्घकालीन समाधान आवश्यक देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images