images
images
  • भरतपुरका ४६० ग्राहकले पाए भूमिगत विद्युत्

    काठमाडौं – भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सञ्चालित भूमिगत विद्युतीकरण आयोजनाअन्तर्गत हालसम्म ४६० ग्राहकलाई भूमिगत प्रणालीमार्फत विद्युत् वितरण गरिएको छ। आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म तथा चितवन मेडिकल कलेजअगाडिका क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् वितरण सुरु गरिएको हो ।

    नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार ग्राहकका घर तथा प्रतिष्ठानमा भूमिगत लाइन जडान गर्ने काम अझै जारी छ। हाल दैनिक करिब १३ वटा मिटरमा लाइन जडान भइरहेको छ ।

    भूमिगत विद्युतीकरणका लागि १८ वटा फिडरमध्ये तीन वटामा लाइन जडान गर्न बाँकी रहेको सुवेदीले जानकारी दिए । अन्य फिडरमा जडानको काम सम्पन्न भइसकेको छ ।

    आयोजनाअन्तर्गत भरतपुर महानगरपालिकाका कुल एक हजार २४० ग्राहकलाई भूमिगत प्रणालीमार्फत विद्युत् उपलब्ध गराउनुपर्नेछ। हालसम्म ४६० ग्राहकले भूमिगत लाइनबाट विद्युत् पाएका छन् भने बाँकी ग्राहकमा जडानको काम भइरहेको छ ।

    भरतपुरको सहरी क्षेत्रमा विद्युत्का तार भूमिगत गर्न कुल एक अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। सुरुमा यस आयोजनाका लागि एक अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको थियो । कामको दायरा विस्तार भएपछि थप १० करोड रुपैयाँ बजेट थप गरिएको हो ।

    आयोजनाको निर्माण ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको यस आयोजनाको पहिलो चरणको निर्धारित अवधि सन् २०२४ जनवरी २० मा सकिएको थियो। निर्धारित समयभित्र काम पूरा हुन नसकेपछि पटकपटक म्याद थप गर्दै आयोजना अघि बढाइएको हो ।

    एसियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको यस आयोजनाले भरतपुरको सहरी क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images