images
images
  • फागुनमा स्थानीय तहको निर्वाचन गराउने तयारीमा आयोग, सरकारलाई दियो यस्तो सुझाव

    काठमाडौं– निर्वाचन आयोगले आगामी चैतको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ ।

    आयोगले फागुन ३० देखि चैत पहिलो सातासम्म निर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको छ ।

    स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल आगामी वैशाख ५ गते सकिँदै छ ।

    स्थानीय तह निर्वाचन ऐनले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

    संविधानको धारा २२५ ले कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले लामो समयसम्म स्थानीय तह रिक्त राख्न नहुने भन्दै आयोगले तयारी गरिरहेको बताएका छन् ।

    आयोगले सरकार र राजनीतिक दलहरूसँग निर्वाचनको मिति तथा आवश्यक तयारीबारे छलफल गरिरहेको छ ।

    यसैबीच, आयोगले अन्तरजिल्ला तथा विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) परीक्षण गर्ने तयारी गरेको छ ।

    सातै प्रदेशमा अन्तरजिल्ला मतदानको परीक्षण गर्ने र पूर्वाधार भएका केही विदेशस्थित नेपाली नियोगमा पनि परीक्षण गर्न सकिनेबारे छलफल भइरहेको छ ।

    आयोगले ईभीएमको प्राविधिक परीक्षणका लागि समिति गठन गरी आवश्यक मापदण्डका आधारमा मेसिन खरिद गर्ने योजना बनाएको छ ।

    विदेशमा मतदानको व्यवस्था र प्रविधि प्रयोगका लागि आवश्यक कानुनी आधार तयार गर्ने कामसमेत भइरहेको आयोगले जनाएको छ ।

    स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने विषयमा पनि छलफल भए पनि दुवै निर्वाचन एकैसाथ हुनेबारे टुंगो लागिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images