काठमाडौं– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमण रोक्न नसकेको विषयमा अनुसन्धान थालेको छ ।
इरानसमर्थित हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोन हवाई सुरक्षा प्रणाली छल्दै विमानस्थलसम्म पुगेपछि सुरक्षा कमजोरी र पूर्वसूचना प्रणालीबारे प्रश्न उठेको हो ।
एसोसिएटेड प्रेसका अनुसार प्रारम्भिक अनुसन्धानमा पहिले ड्रोन र त्यसपछि क्रुज तथा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको देखिएको छ ।
रोयटर्सका अनुसार आक्रमणबाट कम्तीमा १८ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएका छन् ।
साउदी अरबले गत मेदेखि मोबाइल फोन र सामाजिक सञ्जालमार्फत आक्रमणको चेतावनी दिने प्रणाली सञ्चालनमा ल्याएको थियो ।
तर, सेप्टेम्बर २९ पछि रियादमा भएका शृंखलाबद्ध आक्रमणअघि सर्वसाधारणलाई पूर्वसूचना नदिइएको विषयमा पनि अनुसन्धान भइरहेको छ ।
सोमबार साउदी सिभिल डिफेन्सले रियादसहित दक्षिणी सहरहरूमा सम्भावित खतराबारे चेतावनी जारी गरेको थियो ।
यसअघि पूर्वसूचना किन रोकिएको थियो भन्नेबारे साउदी अधिकारीहरूले प्रतिक्रिया दिएका छैनन् ।
मध्यपूर्वमा अमेरिका–इरान द्वन्द्व चर्किएसँगै खाडी क्षेत्रका देशहरू पनि ड्रोन र क्षेप्यास्त्र आक्रमणको जोखिममा पर्दै आएका छन् ।
पछिल्लो घटनाले साउदी अरबको हवाई सुरक्षा र नागरिकलाई समयमै सचेत गराउने प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।






















