काठमाडौं – बुढीगण्डकी र सहायक नदी स्यार खोलामा आएको बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न गोरखाको धार्चे गाउँपालिकामा बिहानैदेखि मर्मत तथा पुनःस्थापनाको काम सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले आजै खोर्लाबेंसीसम्म विद्युत् पुर्याउने प्रयास गरिरहेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आइसकेको छ ।
खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक पहुँच नहुँदा र विद्युत् लाइनमा ठूलो क्षति पुगेकाले सेवा पुनः सञ्चालनमा कठिनाइ भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणको आरुघाट वितरण केन्द्रले धार्चे गाउँपालिकामा पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार प्रभावित क्षेत्रमा विद्युत् सेवा सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिइएको छ। मन्त्रालयले बाढी प्रभावित सबै क्षेत्रमा यसै हप्ताभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीबाट विद्युत् सेवा अवरुद्ध भएलगत्तै प्राधिकरणले मर्मतको काम सुरु गरेको थियो। करिब १० घण्टामै गोरखाको भीमसेन थापा गाउँपालिका–२, ३ र ४ मा विद्युत् सेवा सञ्चालन गरिएको थियो । त्यसैगरी, आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ र आरुपोखरी शाखामा पनि विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ ।
जलविद्युत् आयोजना र वितरण प्रणालीमा ठूलो क्षति
बाढीले गोरखा र धादिङका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।
बुढीगण्डकी, टाइम्स इनर्जी प्रालिको ३४१ मेगावाट, दोभान खोला जलविद्युत् आयोजनाको २४.५ मेगावाट, यारु खोला आयोजनाको ३०.५९ मेगावाट र माछा खोला आयोजनाको १६ मेगावाट क्षमतासँग सम्बन्धित क्षेत्रमा क्षति पुगेको छ । बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका पोलमा क्षति पुगेको छ । सोती, आर्खेत र आरुघाट बजार क्षेत्रमा विद्युत् वितरण लाइनका पोलहरू पनि क्षतिग्रस्त भएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेजका छवटा पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।






















