काठमाडौं – सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिबन्धित लागुऔषध गाँजा र ब्राउन सुगरजस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । यसैबीच, पर्सा प्रहरीले वीरगन्जबाट एक नाल भरुवा बन्दुकसमेत बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुरज क्षेत्रीका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेका बाराको बारागढी गाउँपालिका–३ का जमिल अख्तर मियाँलाई चार किलो ८५ ग्राम गाँजासहित नियन्त्रणमा लिइएको हो। उनले झोलामा लुकाइछिपाइ गाँजा लैजान लागेको अवस्थामा सुरक्षा टोलीले फेला पारेको प्रहरीले जनाएको छ ।
मियाँलाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय पठाइएको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए।
त्यस्तै, भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बाराको विश्रामपुर गाउँपालिका–५ का शेख सहजातको शरीर खानतलासी गर्दा कालो प्लास्टिकमा राखिएको चार ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थको प्रकृति तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यसैबीच, पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२२ स्थित धान खेतमा लुकाइराखेको अवस्थामा १२ बोरको एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।






















