काठमाडौं – मुस्ताङमा यस वर्ष उत्पादित स्याउमध्ये हालसम्म ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ। असोज ११ गतेको भारी वर्षापछि बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ बजार पठाउन ढिलाइ भएको हो ।
यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध हुँदा किसान र व्यापारीलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा। लालमणि अर्यालले बताए । उनका अनुसार सामान्य अवस्थामा यतिबेलासम्म ७० प्रतिशत स्याउ बजारमा पठाइसक्नुपर्ने भए पनि हालसम्म ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ । मुस्ताङमा उत्पादित स्याउको करिब १० प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष जिल्लामा १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ । गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन बढेकाले यस वर्ष स्याउ बिक्रीबाट झन्डै दुई अर्ब रुपैयाँ आम्दानी हुने उनको अनुमान छ ।
भारी वर्षापछि अवरुद्ध बेनी–जोमसोम सडक मर्मत गरेर सञ्चालनमा ल्याइए पनि यातायात अझै सहज भइसकेको छैन। स्याउ बिक्री गर्ने मुख्य याम घर्किन लागेपछि किसानले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन् ।
मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बढी खपत हुने गर्छ । तर, यसपालि सडक लामो समय अवरुद्ध हुँदा पाँचवटै स्थानीय तहमा उत्पादित स्याउ समयमै बजार पुर्याउन नसकिएको हो ।
घरपझोङ गाउँपालिका–५, ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार सडक सञ्चालन भएको दुई दिनमा छ ट्रक स्याउ काठमाडौं पठाइएको छ। उनले आफ्नो फार्मबाट हालसम्म ३० प्रतिशत मात्रै स्याउ बजार पठाउन सकिएको जानकारी दिए ।
जिल्लास्तरीय बोर्डको निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्न सकिने व्यवस्था गरिएको थियो। उत्पादन बढेको वर्षमै ढुवानीमा समस्या आएपछि बाँकी स्याउ समयमै बजार पुर्याउने चुनौती किसान र व्यापारीसामु देखिएको छ ।






















