काठमाडौं– यमनको ताइजमा २४ घण्टाभित्र हुथी आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ ।
यमनको ‘नेटवर्क फर राइट्स एन्ड फ्रिडम्स’ (अधिकार तथा स्वतन्त्रतासम्बन्धी यमनी सञ्जाल) ले जनाएअनुसार विगत २४ घण्टामा ताइज प्रान्तमा हुथी फौजबाट भएका ४३ वटा उल्लंघनका घटनाहरूमा पाँच सर्वसाधारणको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
यमनको सरकारी समाचार संस्था ‘साबा’ द्वारा प्रकाशित प्रतिवेदनमा अधिकारवादी समूहले जनाएअनुसार, मारिनेहरूमा पाँच वर्षीया अहलाम अब्दुलसलाम पनि छिन् । अल–मिसराख जिल्लामा रहेको उनको परिवारको घरमा गोलाबारी हुँदा उनको मृत्यु भएको थियो ।
उक्त समूहका अनुसार हुथी फौजले प्रान्तभरका आवासीय क्षेत्रहरूमा मोर्टार, तोपका गोला, कात्युशा रकेट र ट्यांकका गोलाका साथै ड्रोन आक्रमणमार्फत १८० भन्दा बढी प्रहारहरू गरेका थिए । समाचार अनुसार ताइज सहरमा सातवटा घर, १२ वटा निजी सवारीसाधन, अल–सफवा अस्पताल र अल–सइद मस्जिदमा क्षति पुगेको उल्लेख छ ।
निरन्तरको गोलाबारी र आपूर्तिमा लगाइएका प्रतिबन्धहरूले मानवीय अवस्थालाई झन् खराब बनाउँदै लगेको भन्दै संस्थाले चेतावनी दिएको छ ।
साथै यसले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई सर्वसाधारणको सुरक्षा गर्न तथा अत्यावश्यक सामग्री र स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न तत्काल कदम चाल्न आह्वान गरेको छ ।






















