images
images
  • अविरल वर्षाले तीन सडक अवरुद्ध, यात्रुलाई सतर्कता अपनाउन आग्रह

    काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार नदीले सडक कटान गर्दा तथा पहिरो खस्दा धादिङ, गुल्मी र ललितपुरका तीन सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।

    धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गरेपछि उक्त खण्डमा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नदीको बहाव र सडकको अवस्थाका कारण सवारीसाधन आवागमन प्रभावित भएको हो ।

    त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथमा पनि पहिरोका कारण सवारी आवागमन बन्द भएको प्रहरीले जनाएको छ ।

    निरन्तर वर्षाका कारण पहिरो खस्ने, नदीले सडक कटान गर्ने तथा अन्य स्थानमा समेत सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले यात्रु तथा सवारीचालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न र जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न प्रहरीले सुझाव दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images