images
images
  • फ्रान्समा चोरी भएका रेन्वारका दुई चित्रकला बरामद, घटनामा ६ जना पक्राउ

    काठमाडौं – फ्रान्सको काग्नेस–सुर–मेरस्थित रेन्वार संग्रहालयबाट गत महिना चोरी भएका प्रख्यात चित्रकार पियरे–अगस्ट रेन्वारका दुई चित्रकला फेला परेका छन् । अधिकारीहरूले शुक्रबार चोरी भएका दुवै चित्रकला बरामद गरिएको जानकारी दिँदै घटनामा संलग्न रहेको आशङ्कामा छ जनालाई पक्राउ गरिएको बताएका छन् ।

    बरामद भएका चित्रकलामा सन् १९१० मा बनाइएको ‘पोर्ट्रेट अफ म्याडम कोलोना रोमानो’ र सन् १८८६ को ‘जुन फिल ओ पुई’ रहेका छन् । यी दुवै चित्रकला पेरिसस्थित ओर्से संग्रहालयका हुन्, जुन प्रदर्शनीका लागि रेन्वार संग्रहालयमा राखिएका थिए । चित्रकला फेला परेपछि संग्रहालय रहेको सहरका अधिकारीहरूले राहत व्यक्त गरेका छन् ।

    काग्नेस–सुर–मेरका मेयर ब्रायन म्यासनले यी चित्रकला सहरको इतिहास र सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण हिस्सा भएको बताए । उनले चित्रकला बरामद हुनुलाई सहर र त्यहाँका बासिन्दाका लागि अत्यन्त खुसीको खबर भएको उल्लेख गरे ।

    गत सेप्टेम्बर ८ को बिहान चोरी भएको उक्त घटनामा चोरहरूले संग्रहालयको बगैँचाको बार काटेर भित्र प्रवेश गरेका थिए । त्यसपछि झ्यालबाट भवनभित्र पसेर उनीहरूले चारवटा चित्रकला चोरेका थिए । चोरी गरिएका अन्य चित्रमा ‘मदाम पिचोन’ र रेन्वारका कान्छा छोरा क्लाउडको चित्र ‘कोको रिडिङ’ पनि रहेका थिए ।

    संग्रहालयको अलार्म बजेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीबाट भाग्ने क्रममा चोरहरूले दुईवटा चित्रकला बगैँचामै छाडेका थिए । त्यसपछि चोरी भएका बाँकी दुई चित्रकलाको खोजीका लागि अनुसन्धान अघि बढाइएको थियो । अधिकारीहरूले बरामद चित्रकला कहाँ र कसरी फेला पारियो भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् ।

    अनुसन्धान प्रभावित हुन सक्ने भन्दै अधिकारीहरूले यसअघि तय गरिएको पत्रकार सम्मेलनसमेत रद्द गरेका थिए । घटनामा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको जनाइएको छ । चोरीमा संलग्न व्यक्तिहरू यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको हुन सक्ने आशङ्का अनुसन्धानका क्रममा गरिएको थियो ।

    युरोपका प्रमुख संग्रहालयहरूमा सांस्कृतिक सम्पदा चोरीका घटनाबारे चिन्ता बढिरहेका बेला रेन्वारका चित्रकला चोरी भएको घटना सार्वजनिक भएको हो । यसअघि पेरिसस्थित लुभ्र संग्रहालयबाट बहुमूल्य राजमुकुटका रत्न चोरी भएको घटनाले पनि अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो ।

    रेन्वारका चित्रकला बरामद भएपछि फ्रान्सको सांस्कृतिक सम्पदा संरक्षणमा संलग्न अधिकारीहरूले राहत महसुस गरेका छन् । यद्यपि, चोरीको योजनामा को–को संलग्न थिए, चित्रकला कसरी बरामद भए र घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान जारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images