काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका किसान बेसार बिक्रीका लागि बजार नपाउँदा चिन्तित बनेका छन् । धान र गहुँभन्दा बेसारखेतीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक खेतीमा लागेका किसान भारतीय बजारमा बिक्री बन्द भएपछि समस्यामा परेका हुन् ।
कुतियाकवरमा उत्पादित बेसार विगतका वर्षमा सीमावर्ती भारतीय बजारमा बिक्री हुँदै आएको थियो । तर गत वर्षदेखि भारतमा बेसार बिक्री हुन छाडेपछि किसानले उत्पादनको बजारीकरणका लागि नेपालकै उद्योग खोज्नुपर्ने अवस्था आएको छ ।
स्थानीय किसान खडक बुढाले डेढ बिघा जग्गामा बेसारखेती गर्नुभएको छ । अन्य खाद्यान्न बालीभन्दा बेसारखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसतर्फ आकर्षित हुनुभएका उहाँ अहिले उत्पादन बिक्री हुने बजारको चिन्तामा हुनुहुन्छ ।
“धानखेतीभन्दा बेसारखेतीमा राम्रो आम्दानी हुन थालेपछि डेढ बिघा जग्गामा खेती गरेको छु। तर बिक्रीका लागि बजार पाइँदैन कि भन्ने चिन्ता छ”, बुढाले भने, “गत वर्षदेखि बेसार भारत जान बन्द भएपछि नेपालतर्फका उद्योगमा सम्पर्क गर्न थालेका छौँ ।”
स्थानीय किसान टेकबहादुर सुनारले बेसारखेतीबाट सबै खर्च कटाएर वार्षिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए । उनका अनुसार बेसारबाट हुने आम्दानीले घरखर्च र बालबालिकाको पढाइ खर्च धान्न सहज भएको थियो । उनले १८ कठ्ठा जग्गामा बेसारखेती गर्दै आउनुभएको छ ।
“यसअघि हाम्रो उत्पादन भारतीय बजारमा बिक्री हुन्थ्यो, समस्या थिएन”, सुनारले भजे, “बेसारखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना भए पनि उत्पादनपछि बजार सुनिश्चित नहुँदा समस्या हुने गरेको छ ।”
त्यस्तै, २२ कठ्ठा जग्गामा बेसारखेती गर्दै आउनुभएका मोतिराम सुनारले उत्पादन गर्नभन्दा उत्पादित बेसार बिक्री गर्न समस्या भएको बताए । कुतियाकवरको माटो बेसारखेतीका लागि उर्वर रहेकाले उत्पादनमा कठिनाइ नभए पनि बजारको अभावले किसानलाई अन्योलमा पारेको उहाँको भनाइ छ ।
“हाम्रो घरखर्च सबै खेतीबाट चलेको छ, अरू रोजगार छैन”, उनले भने, “खेती गर्न पनि ढुक्कसँग गर्न सकिने अवस्था छैन ।”
उनले किसानको उत्पादन बिक्रीका लागि सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताए । भारतीय बजारमा निर्भर रहँदै आएका यहाँका किसानले अहिले बेसार बिक्रीका लागि नेपालका मसला उद्योगसँग सम्पर्क गरिरहेका छन् ।
स्थानीय किसानका अनुसार उत्पादनका लागि उपयुक्त जमिन र व्यावसायिक खेतीको सम्भावना भए पनि बजार सुनिश्चित नहुँदा खेती विस्तार गर्न समस्या भइरहेको छ । उत्पादनसँगै बजारीकरणको व्यवस्था गर्न सके बेसारखेती किसानको आम्दानी बढाउने भरपर्दो माध्यम बन्न सक्ने उनीहरूको विश्वास छ ।
यहाँका किसानलाई कृषि ज्ञान केन्द्र कञ्चनपुरले ५० प्रतिशत अनुदानमा बेसारको बीउ उपलब्ध गराएको छ । तर उत्पादन बढाउन प्रोत्साहन गरिए पनि बजारको सुनिश्चितता नहुँदा किसानले अपेक्षित लाभ लिन नसक्ने अवस्था देखिएको छ ।
दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बूले किसानको समस्या समाधान गर्न नगरपालिकाले स्थानीयस्तरमै मसला उद्योग सञ्चालन गर्ने तयारी गरेको बताए ।
“कार्यपालिकाबाट मसला उद्योग सञ्चालन गर्ने निर्णय गरिसकेका छौँ, बजेट पनि विनियोजन भएको छ”, उनले भने, “उद्योग सञ्चालनका लागि ठाउँ खोज्ने काम भइरहेको छ ।”
स्थानीयस्तरमा मसला उद्योग सञ्चालनमा आए बेसारलगायत कृषि उपजको बिक्री सहज हुने र किसानले बजार खोज्दै भौँतारिनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।


विश्व खबर 



















