काठमाडौं– संयुक्त राज्य अमेरिकाका अभियोजकले भेनेजुयलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसमाथि आममानिसलाई यातना दिएको थप अभियोग लगाएका छन् । यसअघि नै उनीहरूलाई लागुऔषध ओसारपसार र हतियारसम्बन्धी मुद्दा लागेको थियो ।
गत जनवरीमा भेनेजुयलाको राजधानी काराकासबाट ल्याइएका उनीहरूलाई ब्रुकलिनमा हिरासतमा राखिएको छ । मादुरोका वकिल बेरी जे पोलाकले मादुरोले गलत नगरेको दाबी गरेका छन् । फ्लोरेसमाथि लागुऔषध कारोबार तथा आतङ्ककारीहरूसँग साँठगाँठ गरेको आरोप समेत लगाइएको छ ।
यी दुवैको सुनुवाइ सन् २०२७ जनवरीमा सुरु हुनेछ । फ्लोरेसले घरमै नजरबन्द हुन गरेको अपिल अस्वीकार भएपछि यी दुवै जना ब्रुकलिनमै हिरासतमा रहने अनुमान गरिएको छ ।
अहिले मादुरो सत्तामा हुँदा भेनेजुयलामा रहेका अमेरिकीहरूलाई यातना दिइएको थप आरोप लगाइएको हो । उनीहरूमाथि इलेक्ट्रिक सक, बलात्कार, नाङ्गो बनाउने, सास थुन्ने र मानसिक यातना दिने गरेकोलगायतको आरोप लगाइएको छ । पीडितको परिवारको सदस्यलाई मार्नेसम्मका धम्की दिएर मानसिक यातना दिइएको आरोप अभियोजकको छ । अभियोजकहरूले यो सबै कारणले त्यहाँ रहेका अमेरिकीहरूले धेरै दुःख सहेको समेत बताएका छन् ।

फ्लोरेसले यसरी यातना दिइएको व्यक्तिको विवरणका बारे समेत अपडेट हुने नीति लिएको आरोप लागेको छ । गैरकानुनी कारोबारमा संलग्न आफ्ना परिवारका सदस्यलाई बचाउन यो सबै गरिएको आरोप उनीहरूको छ ।
उनीहरूमाथि लगाइएको आरोप सँगै भेनेजुयलाको हिरासतबाट छुट्नेहरूको बयान समेत समावेश छन् । त्यहाँबाट छुटेका जेभियर टारजनाले आफूहरूलाई ४६ दिन हिरासतमा राखिएको बताए । अर्का पीडितले एक महिनासम्म आइसोलेसनमा राखेर कसैलाई पनि भेट्न नदिएको बताएका छन् ।
मादुरो बाहिरिएपछि उनकै उपराष्ट्रपति देल्सी रोड्रिग्वेजले सत्ता सम्हालेका छन् । उनले भने ट्रम्प प्रशासनलाई सहयोग गरिरहेकी छन् । उनको सत्तारोहणपछि सयौँ जना एमनेस्टी कानुनअनुसार रिहा भइसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय मानव अधिकार आयोगका कमिस्नर भोल्कर टर्क मादुरो सत्ताबाट हटेपछि पनि धेरै जना यातनाको सिकार भइरहेको बताउँछन् । उनको दाबीअनुसार भेनेजुयलामा यस खालको घटना व्यवस्थित नै भइसकेका थिए । भेनेजुयलाको विदेश मन्त्रालयले भने यसलाई प्रोपोगान्डाको संज्ञा दिएको थियो ।
मादुरोको उदय र ओरालो यात्रा
अमेरिकाबाट उठाएर ल्याइएका ह्युगो चाभेजका उत्तराधिकारी मादुरोले १२ वर्ष शासन गरे । तेस्रो कार्यकालका लागि सत्ता चलाइरहेका उनको अन्तिम निर्वाचनको जित भने विवादरहित रहेको थिएन ।
चाभेजको समयमा उत्थानमा रहेको भेनेजुयलाको अर्थतन्त्रसमेत त्यस समयमा ओरालो यात्रामा लागेको थियो । मादुरो सत्ता विमुख हुनुको केही समय अघिको आँकडा हेर्ने हो भने सन् २०१३ पछि कुल गार्हस्थ उत्पादन सबैभन्दा कम भएको थियो ।

चाभेजलाई मादुरोले प्रतिस्थापन गरेपछि अर्थतन्त्र र प्रजातन्त्रको सूचक दुवैमा भेनेजुयलाको यात्रा ओरालो थियो ।
मादुरोको जन्म सामान्य परिवारमा भएको थियो । उनका बाबु मजदुर सङ्गठनका नेता थिए । युवावस्था हुँदा मादुरो सोसलिस्ट लिगको प्रायोजनमा हवाना पुगेर राजनीतिशास्त्रको अध्ययन गरेका थिए । काराकासमा आएर बस चालक बनेका उनले मजदुर सङ्गठनमार्फत राजनीतिक यात्रालाई अघि बढाएका थिए ।
सन् १९९८ मा चाभेज सत्ता स्थापना भएपछि मादुरो कंग्रेसमा चुनिए । चाभेजले मादुरोलाई विदेशमन्त्रीमा समेत चयन गरे । १९औं शताब्दीका चर्चित ल्याटिन अमेरिकी उपनिवेशवादी सिमोन बोलिभायरलाई आदर्श मान्ने भेनेजुयलाको सत्ताले देशको नाम नै बोलिभारियन रिपब्लिक अफ भेनेजुयला राखेका थिए ।
सन् २०१३ मा क्यान्सरका कारण मृत्यु हुनुअगावै चाभेजले मृदुभाषिका मादुरोलाई आफ्नो उत्तराधिकारी बनाइसकेका थिए ।
संयोग नै मान्नुपर्छ कि चाभेजको मृत्यु भएको केही वर्षमा नै भेनेजुयलामा तेलको मूल्य आकाशिएको थियो । धेरैले त चाभेजलाई भाग्यमानी समेत बताए । त्यहाँको मुद्रण नीति समेत असफल भए स्थानीय मुद्राको भाउ एकै पटक घटेको थियो । यसैकारण ७९ लाख भेनेजुयलावासीले देश छाडेका थिए । धेरैले पनामा र क्यानडाको कठिन चोर बाटो तय गरेर अमेरिकाका यात्रा समेत गरेका थिए । आफू र परिवारको जीवन धान्न कठिन भएकै कारण सो यात्रा गरेको बताइन्छ ।

सन् २०२४ मा मादुरोले जित हात पारे । निर्वाचनको अनुगमन गरेको कार्टर सेन्टर फर डेमोक्रेसीले मादुरोले विपक्षीलाई राम्रोसँग मत माग्न समेत नदिएर लखेटेको आरोप लगाएको थियो ।
सोही निर्वाचनपछि विपक्षी उम्मेदवार एडमुन्डो गोन्जालेज उरुटिया देश छाडेर भागेका थिए ।
रोड्रिग्वेजको शासनकालमा भेनेजुयला नयाँ बाटोमा अघि बढिरहेको समाचार आउन थालेका छन् । त्यसका बावजुद धेरै समस्या हटेको छैन । लामो समयको ग्यासको अभाव भएको पनि पछिल्लो समय धेरै सञ्चारमाध्यमले उल्लेख गरेका छन् । केही स्थानमा खानेपानीको समस्या यथावतै छ । स्थानीय अधिकारीहरूले प्राकृतिक कारणलाई दोष दिने गरेका छन् भने स्थानीयहरू यो कुरा मान्न तयार छैनन् ।
समुद्री तटमा रहेका भेनेजुयलाको अर्को आम्दानीको स्रोत माछापालन हो । तर सो पेसाबाट हुने आम्दानी बढेको छैन । महँगी बढेको छ ।
यसबीच मादुरो दम्पतीको जीवन कुन बाटोमा जाने हो भन्ने अनिश्चित नै छ । चाभेजलाई मादुरोले प्रतिस्थापन गरेपछिको कठिन दिन कहिले सकिन्छ भन्ने पनि यकिन छैन ।
–बीबीसी, एटलान्टिक काउन्सिल र एनपीआर डट ओआरजीलगायतको सहयोगमा


मनोज घिमिरे 



















