images
images
  • यस्तो छ नवनिर्वाचित कांग्रेस सभापति गगन थापाको राजनीतिक यात्रा

    काठमाडौं- गगनकुमार थापाको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि नेपाली कांग्रेसको सभापतिसम्म आइपुगेको छ ।

    २०३३ साउन ४ गते जन्मिएका थापा विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए ।

    त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुँदै उनले राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान स्थापित गरे ।

    राजनीतिमा स्थापित हुनुअघि रेडियो कार्यक्रम प्रस्तोताका रूपमा काम गरेका थापा वक्तृत्वकला, संसदीय बहस र सार्वजनिक सरोकारका विषयमा स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित छन् ।

    उनी २०६४ सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बने भने २०७०, २०७४ र २०७९ सालमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

    २०७३ सालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका उनले स्वास्थ्य सेवा सुधारका विषयलाई प्राथमिकता दिएका थिए ।

    २०७८ सालको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन, संगठन सुधार र पुस्तान्तरणका पक्षमा आवाज उठाउँदै आएका थिए। २०८२ माघमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका उनी २०८३ असोजमा भएको १५औँ महाधिवेशनको निर्वाचनमा पनि सभापतिमा निर्वाचित भए ।

    सभापतिको जिम्मेवारीसँगै थापासामु पार्टीभित्रको गुटगत मतभेद व्यवस्थापन, संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको संरक्षण र जनविश्वास बढाउने चुनौती छन् ।

    उनले उठाउँदै आएका सुशासन र पार्टी सुधारका एजेन्डालाई व्यवहारमा उतार्नु उनको नेतृत्वको मुख्य परीक्षा हुनेछ ।

    रेडियोको माइक्रोफोनबाट राजनीतिक यात्रा सुरु गरेका थापाका लागि अब लोकप्रियतालाई ठोस परिणाममा बदल्नु र कांग्रेसलाई जनतासँग थप जोड्नु सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images