काठमाडौं – जर्मनीका पूर्वचान्सलर गेरहार्ड श्रोडर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जन्मदिनको भोजमा सहभागी भएका छन् । क्रेमलिनका अनुसार, व्यापारिक भ्रमणका क्रममा मस्कोमा रहेका श्रोडरलाई पुटिनले आफ्नो निवासमा निमन्त्रणा गरेका थिए ।
पुटिनले बुधबार मस्कोमा आफ्नो ७४औँ जन्मदिन मनाएका थिए । रुसी सञ्चारमाध्यममा श्रोडर मस्कोमा रहेको समाचार आएपछि पुटिनले उनलाई निमन्त्रणा गरेको क्रेमलिनले जनाएको छ। क्रेमलिनले पुटिन र श्रोडर मुस्कुराउँदै हात मिलाइरहेको तस्बिरसमेत सार्वजनिक गरेको छ ।
हाइपरग्लोबसको निरीक्षण समितिमा नियुक्त भएपछि मस्को भ्रमण
८२ वर्षीय श्रोडर नयाँ हाइपरग्लोबस सुपरमार्केट शृङ्खलाको एउटा शाखा भ्रमण गर्न मस्को पुगेका थिए। गत साता उनलाई उक्त कम्पनीको सुपरभाइजरी बोर्ड अर्थात् निरीक्षण समितिमा नियुक्त गरिएको थियो ।
हाइपरग्लोबस सुरुमा जर्मन खुद्रा व्यापार कम्पनी ग्लोबस होल्डिङको हिस्सा थियो । उक्त कम्पनीले जर्मनी र चेक गणतन्त्रमा ग्लोबस सुपरमार्केट सञ्चालन गर्दै आएको छ ।
ग्लोबस होल्डिङले रुसमा पनि सुपरमार्केट सञ्चालन गरेको थियो । तर, गत वर्ष रुसबाट आफ्नो लगानी फिर्ता लिएपछि त्यहाँका स्टोरहरूलाई हाइपरग्लोबस नामक छुट्टै कम्पनीका रूपमा अलग गरिएको थियो ।
रुससँगको सम्बन्धका कारण आलोचना
मध्य(वामपन्थी सोसल डेमोक्रेटिक पार्टी ९एसपीडी० का सदस्य श्रोडरले सन् १९९८ देखि २००५ सम्म जर्मनीको चान्सलरका रूपमा काम गरेका थिए ।
चान्सलर पदबाट हटेपछि उनले रुसका सरकारी स्वामित्वमा रहेका ऊर्जा कम्पनीहरूसँग काम गरेका छन्। साथै, पुटिनसँग व्यक्तिगत सम्बन्धसमेत कायम राख्दै आएका छन् ।
रुससँगको उनको निकट सम्बन्ध जर्मनीमा लामो समयदेखि विवादको विषय बन्दै आएको छ । विशेषगरी सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि श्रोडरको रुसप्रतिको निकटतालाई लिएर आलोचना तीव्र भएको थियो ।
रुसी ऊर्जा क्षेत्रमा उनको संलग्नताका कारण सन् २०२२ मा करदाताको रकमबाट सञ्चालन हुँदै आएको बर्लिनस्थित उनको कार्यालय बन्द गरिएको थियो । उनलाई सोसल डेमोक्रेटिक पार्टीबाट निष्कासन गर्नुपर्ने मागसमेत उठेको थियो ।
यद्यपि, पार्टीबाट निष्कासन गर्ने प्रयास सफल हुन सकेन। रुससँगको सम्बन्धलाई लिएर विवाद जारी रहेकै बेला पुटिनको जन्मदिनको भोजमा श्रोडरको सहभागिताले जर्मनीमा उनको भूमिकाबारे पुनः बहस चर्किन सक्ने देखिएको छ ।


विश्व खबर 




















