images
images
  • इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ : प्राधिकरण

    काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि समेत कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

    इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र शुल्क बढाउन स्वीकृतिसमेत नदिएको स्पष्ट पारेको हो ।

    प्राधिकरणका अनुसार दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

    त्यसैगरी, प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । स्वीकृत दरभन्दा बढी शुल्क लिन, पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले नियमविपरीत शुल्क असुल्ने वा अन्य अनधिकृत गतिविधि गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । साथै, उपभोक्तालाई स्वीकृत दरअनुसार मात्रै शुल्क तिर्न र सेवा प्रदायकले तोकिएको नियम पालना गरे–नगरेको विषयमा सचेत रहन आग्रह गरेको छ ।

    प्राधिकरणको यो स्पष्टतासँगै इन्टरनेट सेवाको शुल्क वृद्धि भएको भन्ने समाचारका बीच उपभोक्तालाई स्वीकृत दरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था नरहेको सन्देश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images