काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य तीव्र पारिएको छ ।
तीनवटै सुरक्षा निकायको समन्वयमा बाढीमा परेका गम्भीर घाइतेको तत्काल प्राथमिक उपचार तथा उद्धार भइरहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
आपतकालीन सडक उद्धारका लागि आवश्यक उपकरणसहित चिकित्सा तथा उद्धार टोली बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। बाढी प्रभावितको उपचारका लागि सतुङ्गलस्थित सशस्त्र प्रहरी अस्पतालमा समेत शय्या खाली गरी तयारी अवस्थामा राखिएको छ ।
रसुवाभन्दा तलका तटीय क्षेत्र नुवाकोट, धादिङ र चितवनमा रहेका सशस्त्र प्रहरीका युनिटलाई विपद् उद्धारका लागि उच्च सतर्कतामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। नदी किनारका जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीका गाडी तथा गस्ती टोली परिचालन गरी सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न सूचना प्रवाह भइरहेको छ ।
नुवाकोटको सदरमुकाम विदुरमा अस्थायी स्वास्थ्य सेवा स्थापना तथा सञ्चालनको तयारी भइरहेको सहप्रवक्ता थापाले बताउनुभयो। सशस्त्र प्रहरीका विभिन्न इकाइमा तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्रीसहितका कन्टेनर आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको छ । देशका अन्य भागमा रहेका राहत तथा उद्धार सामग्रीसमेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरिएको छ ।
भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप हिमताल विस्फोट वा बाढीको जोखिमबारे पूर्वसूचना प्राप्त गर्न तथा सम्भावित क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीले निरन्तर संवाद र सूचना आदानप्रदान गरिरहेको जनाएको छ ।
त्यस्तै, नदी किनारका जोखिमयुक्त बस्ती, मुख्य सडक तथा करिडोरमा खसेका पहिरो हटाएर उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने कामलाई समेत तीव्रता दिइएको छ ।
बाढी प्रभावित क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकको पहिचान र बाढीबाट भएको क्षतिको मूल्याङ्कनका लागि सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ। रसुवागढी भन्सार यार्डलगायत बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजीका लागि कुकुरसहितको खोज तथा उद्धार टोलीसमेत परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा आपतकालीन हेलिप्याड तयार गरी नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी, विस्थापितका लागि बनाइएका शिविरमा हैजा तथा अन्य पानीजन्य रोग फैलिन नदिन सशस्त्र प्रहरीको टोलीले आपतकालीन खानेपानी शुद्धीकरण तथा स्वच्छता व्यवस्थापनमा समेत काम गरिरहेको छ ।























