काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका सबै सांसदले मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो पार्टीका ४९ जना सांसद नै मन्त्री चाहियो भनेर हुलका हुल आउने गरेको बताए ।
‘सबैलाई मन्त्री चाहिएको छ । हामीले बढी पाइयो भने ७ जना हो । मन्त्री नभए चाहिँ नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भने मात्रै काम गर्ने प्रवृत्ति जबरजस्त छ अहिलेको परिपाटीभित्र,’ प्रचण्डले भने, ‘कि ठूलै राजनीतिक नियुक्ति पायो भने ठीकै छ । नभए नेतृत्व बदमास भयो भन्न बेरै नलगाउने । सबैलाई मन्त्री बनाउन त मन छ नि १ त्यसो गर्न पनि मिल्दैन ।’
आदर्शको कुरा गर्ने तर चित्त चाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्नेमा रहेको उनले बताए । प्रचण्डले नरबहादुर कर्माचार्यको आदर्शबाट पार्टी नेता कार्यकर्ताले सिक्नुपर्ने बताए ।
‘नरबहादुर कर्माचार्य जीवनको अन्तिम समयसम्म क्रान्तिकारी पार्टी निर्माणमा अहोरात्र खट्नुभयो तर हामी त्यस्ता छैनौं । त्यस्ता छैनौं भनेर सबैले मान्नुपर्छ,’ दाहालले भने ।


विश्व खबर 




















