images
images
  • २० रोपनीमा ५० टनेल, तरकारीबाट वर्षमै १५ लाख आम्दानी

    काठमाडौं– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि धेरै ग्रामीण बस्ती रित्तिँदै गएका छन् । तर म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले आफ्नै गाउँको माटोमा मेहनत र सीप लगाएर वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन् ।

    करिब २० रोपनी जमिनमा ५० वटा टनेल निर्माण गरेर उनले व्यावसायिक रूपमा सागसब्जी खेती गर्दै आएकी छन् । टमाटर, भन्टा, अकबरे खुर्सानी, काक्रो, बोडी तथा विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएकी तुलसाको दैनिकी बिहान ४ बजेदेखि खेतबाट सुरु हुन्छ ।

    बोटबिरुवाको अवस्था हेर्ने, रोग–किरा नियन्त्रण गर्ने, उत्पादन टिप्ने र बजार व्यवस्थापन गर्न उनलाई साँझसम्मै भ्याइनभ्याइ हुन्छ ।

    “आफ्नै माटोमा मेहनत गर्न सक्यो भने पैसा पनि यहीँ फल्दोरहेछ,” तुलसा भन्छिन्, “ढङ्ग पुर्‍याएर मेहनत गर्ने हो भने सरकारी जागिरभन्दा तरकारी खेती निकै जाती ।”

    डेढ–दुई लाखबाट सुरु भएको यात्रा

    तुलसा परिवारले करिब १६ वर्षअघि १२ देखि १५ वटा टनेलबाट व्यावसायिक सागसब्जी खेती सुरु गरेको थियो । सुरुमा करिब डेढदेखि दुई लाख रुपैयाँ लगानी गरेर सुरु गरिएको खेतीबाट भएको आम्दानी पुनः व्यवसायमै लगानी गर्दै जाँदा अहिले लगानी करिब ८० लाख रुपैयाँ पुगेको तुलसा बताउँछिन् ।

    उनले ‘सृजनशील कृषि फर्म’ दर्ता गरेर व्यवसाय सञ्चालन गर्दै आएकी छन्। विसं २०७६ मा प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ अनुदान पाएपछि थप टनेल निर्माण गरी खेती विस्तार गरिएको उनले बताइन् ।

    हाल एकपटक बजारमा १० हजारदेखि ४० हजार रुपैयाँसम्मको सागसब्जी बिक्री हुने गरेको छ। हप्तामा दुईपटक उत्पादन बजारमा पुर्‍याउने गरिएको छ ।

    बेमौसमी तरकारीमा राम्रो आम्दानी

    तुलसाका अनुसार बेमौसमी सागसब्जीको बजार राम्रो छ। उत्पादन लागत, कामदारको पारिश्रमिक, मल, बीउलगायत खर्च कटाएर वार्षिक करिब १५ लाख रुपैयाँ खुद नाफा हुने गरेको उनी बताउँछिन् ।

    खेतीमा उनलाई गाउँकै दुई महिला स्थायी रूपमा सहयोग गर्छन्। उनीहरूलाई मासिक १८ हजार रुपैयाँ पारिश्रमिक दिइन्छ । कामको चाप बढेका बेला थप श्रमिक बोलाउने गरिएको छ। त्यस्ता श्रमिकलाई कामको प्रकृतिअनुसार दैनिक ५०० देखि १ हजार ५०० रुपैयाँसम्म पारिश्रमिक दिने गरिएको तुलसाले बताइन् ।

    तरकारी खेतीसँगै उनको परिवारले करिब ८० रोपनी क्षेत्रफलमा धान खेतीसमेत गर्दै आएको छ । धानखेतीको जिम्मेवारी ससुराले सम्हाल्दै आएका छन् भने तुलसाले मुख्य रूपमा सागसब्जी खेतीको व्यवस्थापन गर्छिन् ।

    श्रीमान् सरकारी सेवामा रहे पनि बिहान–बेलुका खेतीमा सहयोग गर्छन् ।

    विदेशको दुःख देखेपछि गाउँमै फर्किए

    तुलसाका श्रीमान् यसअघि म्याङलुङ बजारमा साइबर सञ्चालन गर्थे। विसं २०६० तिर वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनी विदेशमा भोगेको दुःख र संघर्षपछि स्वदेशमै केही गर्ने सोच बनाएर फर्किए ।

    त्यसपछि श्रीमान्–श्रीमती मिलेर १०–१२ वटा टनेलमा सागसब्जी खेती सुरु गरेका थिए। विसं २०७० पछि उनका श्रीमान् जिल्ला अस्पताल तेह्रथुममा करार सेवामा काम गर्न थालेपछि तुलसाले खेतीको जिम्मेवारी सम्हाल्दै व्यवसायलाई थप विस्तार गरिन् ।

    तरकारीको आम्दानीले छोराछोरीको पढाइदेखि घरसम्म

    सागसब्जी खेतीबाट भएको आम्दानीले परिवारको आर्थिक अवस्था सुधारिनुका साथै छोराछोरीको शिक्षामा समेत ठूलो सहयोग पुगेको तुलसा बताउँछिन् ।

    परिवारले म्याङलुङ बजार र इटहरीमा घर निर्माण गरेको छ। उनकी छोरी स्नातक तहको तेस्रो वर्षमा सूचना प्रविधि इन्जिनियरिङ अध्ययनरत छन् भने छोरा कक्षा १२ मा पढिरहेका छन् । छोराछोरीको शिक्षामा मात्रै मासिक ६० देखि ७० हजार रुपैयाँसम्म खर्च हुने गरेको तुलसा बताउँछिन् ।

    “सागसब्जी खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइदेखि घरायसी खर्चसम्म धान्न सहयोग पुगेको छ,” उनी भन्छिन् ।

    गाउँबाटै बजारमा पुग्छ दुई ट्र्याक्टर तरकारी

    म्याङलुङ बजारको टुँडिखेलमा मंगलबार र शुक्रबार लाग्ने हटियामा तुलसाको टोलबाट मात्रै दुई ट्र्याक्टरसम्म सागसब्जी पुग्ने गरेको छ ।

    पहिले डोकोमा बोकेर बजार पुर्‍याउनुपर्ने अवस्था भए पनि पछिल्ला पाँच–सात वर्षमा सडक विस्तार भएपछि उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको तुलसा बताउँछिन् ।

    बजारसम्मको पहुँच सहज भएपछि गाउँमा उत्पादन बढाउन र व्यावसायिक खेती गर्न थप हौसला मिलेको उनको अनुभव छ ।

    ‘आफ्नै ठाउँमा पनि अवसर छ’

    बिहानै खेतमा पुगेर सुरु हुने तुलसाको दैनिकी अहिले केवल आम्दानीको माध्यममा सीमित छैन। यही व्यवसायले परिवारको आर्थिक अवस्था सुधार्नुका साथै गाउँमै रोजगारी सिर्जना गरेको छ ।

    उनको १६ वर्षको कृषि यात्राले रोजगारीका लागि विदेश जानैपर्ने वा सरकारी जागिरमै निर्भर हुनुपर्ने सोचभन्दा बाहिर पनि सम्भावना रहेको देखाएको छ। बाँझिँदै गएका जमिनलाई उत्पादनमा जोड्न सके आम्दानीसँगै स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्न सकिने उनको अनुभव छ ।

    “आफ्नै गाउँको माटोमा मेहनत गर्न सके यहीँबाट राम्रो आम्दानी गर्न सकिन्छ,” तुलसा भन्छिन्, “आफ्नै ठाउँमा भएको स्रोत र सीपलाई सदुपयोग गर्न सके परिवारसँगै बसेर काम गर्न र कमाउन सकिन्छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images