काठमाडौं– जुगल गाउँपालिका–४ ठूलो कत्तिके र सानो कत्तिके जोड्ने पुल जीर्ण बनेपछि स्थानीयवासीसँगै जुगल हिमाल घुम्न जाने पर्यटकलाई समेत समस्या भएको छ ।
च्याल्तचाम खोलामाथि स्थानीय सरकारले विसं २०७३ मा निर्माण गरेको उक्त पुलबाट स्थानीयवासी लामो समयदेखि आवतजावत गर्दै आएका थिए। पछिल्लो समय यही पुल हुँदै जुगल हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गरेका छन् ।
तर पुल भाँचिएर जीर्ण अवस्थामा पुगेपछि आवतजावत जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ। पुल जीर्ण भएको लामो समय बितिसक्दा पनि मर्मत तथा पुनर्निर्माणमा चासो नदिइएको स्थानीयको भनाइ छ ।
स्थानीय देव लामाले जीर्ण पुलबाट हिँड्नसमेत डर लाग्ने अवस्था रहेको बताए। उनका अनुसार पुल बिग्रिएको करिब एक वर्ष भइसके पनि समस्या समाधान हुन सकेको छैन ।
भ्रमण वर्षमै पुलको समस्या
जुगल गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई जुगल हिमालसम्म आकर्षित गर्ने उद्देश्यले ‘जुगल भ्रमण वर्ष २०८३’ घोषणा गरेको छ ।
भ्रमण वर्षका लागि पर्यटक आउने समय सुरु भइसके पनि पर्यटक आवतजावत गर्ने मुख्य पुल नै जीर्ण अवस्थामा रहेकाले अभियानको प्रभावकारितामाथि प्रश्न उठेको स्थानीयको भनाइ छ ।
स्थानीय ल्हालुङ लामाले पर्यटक आकर्षित गर्न सुरक्षित बाटो र पुल आवश्यक रहेको बताए। जीर्ण पुलकै कारण पर्यटकलाई आवतजावतमा समस्या हुने र यसले जुगल भ्रमण वर्षमा समेत असर पार्न सक्ने उनको भनाइ छ ।
उनले जीर्ण पुललाई लामो समय अलपत्र नराखी तत्काल मर्मत वा नयाँ पुल निर्माण गर्न गाउँपालिकासँग माग गरेका छन् ।
मर्मत सम्भव नभएपछि नयाँ पुल बनाइने
जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जीर्ण पुल हटाएर त्यस स्थानमा बेलिब्रिज निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार पुल जीर्ण भएको जानकारी पाएपछि गाउँपालिकाले प्राविधिक टोलीमार्फत स्थलगत अध्ययन गराएको थियो । प्राविधिक अध्ययनबाट हालको पुल मर्मत गरेर सञ्चालनमा ल्याउन सम्भव नरहेको निष्कर्ष आएको अध्यक्ष स्याङ्बोले बताए ।
गाउँपालिकाले नयाँ बेलिब्रिज निर्माणका लागि बजेटसमेत विनियोजन गरिसकेको जनाएको छ ।
अध्यक्ष स्याङ्बोका अनुसार आगामी असोज महिनाभित्रै पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइनेछ ।
नयाँ पुल निर्माण भएपछि स्थानीयवासीको सुरक्षित आवतजावतसँगै जुगल हिमाल जाने पर्यटकलाई समेत सहज हुने गाउँपालिकाको अपेक्षा छ ।


विश्व खबर 



















