काठमाडौं- नेकपा (एमाले)भित्र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई लिएर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच मतभेद चर्किएको छ ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन तयार गरेपछि विवाद बढेको हो ।
पोखरेलको प्रतिवेदनमा पार्टी पुनर्गठन तथा नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने विषय उल्लेख छ ।
बादलको प्रतिवेदनमा वर्तमान नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा जोड दिइएको छ ।
गुण्डुमा भएको छलफलमा ओलीले पोखरेलको प्रतिवेदन पुनर्लेखन वा फिर्ता लिन दबाब दिएको स्रोतको दाबी छ ।
पोखरेलले भने पार्टी संस्थागत ढंगले सञ्चालन हुनुपर्ने र पुनर्गठन नेता–कार्यकर्ताको भावना भएको जवाफ दिएको बताइएको छ ।
यसैबीच एमालेभित्र विवाद बढिरहेका बेला ओलीले प्रचण्डसँग पार्टी एकताको सम्भावनासहित विभिन्न राजनीतिक विकल्प अघि सारेको स्रोतको दाबी छ ।
यद्यपि एमाले सचिव महेश बस्नेतले पार्टी विभाजन वा अन्य दलसँग एकताको हल्लामा विश्वास नगर्न आग्रह गर्दै एमाले एकताबद्ध रहेको बताएका छन् ।
असोज ५ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकअघि विवाद समाधान नभए बादल र पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन बैठकमा पेस हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
यसका साथै ओली-शंकर समूहको विवाद चर्किँदै गएपछि पार्टी नै फुट्न सक्ने सम्भावना देखिन्छ ।


विश्व खबर 



















