काठमाडौं नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दुई रात तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्तासहित कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा बजार व्यवस्थापनमा कार्यरत कर्मचारी गरी ५६५ जनाको सहभागिता रहेको थियो ।
विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली
कार्यक्रमको सुरुवातमा भोटेकोशीमा आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । साथै घाइते तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो ।
कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा अध्यक्ष सिंहले बीमा कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्तालाई थप व्यावसायिक र दक्ष बनाउन सीप तथा क्षमता विकासमा कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्ने बताइन् ।
उनले अभिकर्ता सञ्जालमा नेतृत्व विकासलाई महत्वपूर्ण विषयका रूपमा उल्लेख गर्दै त्यसका लागि कम्पनीले आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
गत वर्षको उपलब्धि सामूहिक सफलता
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले गत आर्थिक वर्षमा कम्पनीले हासिल गरेको व्यावसायिक उपलब्धि सम्पूर्ण नेशनल लाइफ परिवारको सामूहिक सफलता भएको बताए ।
उनले कम्पनीको व्यावसायिक विस्तारमा अभिकर्ताको भूमिकालाई महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सेवा र दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।
सम्पत्ति शुद्धीकरणबारे अभिकर्तालाई प्रशिक्षण
कार्यक्रममा सहभागी अभिकर्ताको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विषयमा प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो ।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए ।
उनले बीमालाई समेत माध्यम बनाएर सम्पत्ति शुद्धीकरण गर्ने गतिविधि हुन सक्ने भएकाले शंकास्पद गतिविधिको सूक्ष्म निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पालना गर्न बीमा व्यवसायमा संलग्न सबै पक्ष सचेत हुनुपर्ने बताए ।
बीमा व्यवसायमा कृत्रिम बुद्धिमत्ताको प्रयोग
प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता प्रविधिलाई बीमा व्यवसायसँग जोड्न सकिने सम्भावनाबारे प्रशिक्षण दिएका थिए ।
उनले विभिन्न प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनलगायतका क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको उपयोग गर्न सकिने बताए ।
डिजिटल माध्यमबाट व्यवसाय विस्तारमा जोड
अर्का प्रशिक्षक संजोग कोइरालाले अहिलेको समय डिजिटल प्रविधिको भएकाले यसको प्रभावकारी प्रयोगले बीमा व्यवसाय विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
उनले ग्राहकसम्म सेवा तथा जानकारी पुर्याउन, सम्बन्ध विस्तार गर्न र व्यवसाय प्रवर्द्धन गर्न उपलब्ध डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्न अभिकर्तालाई सुझाव दिएका थिए ।
कार्यक्रममा चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्तालाई सम्मान तथा सदस्यता वितरण गर्नुका साथै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित विभिन्न गतिविधि सञ्चालन गरिएको थियो ।


विश्व खबर 



















