images
images
  • ७२ ब्रोकरको सर्भरमा समस्या आएपछि नेप्से कारोबार बन्द, प्राविधिक कमजोरी खोज्दै बोर्ड

    काठमाडौं – नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को कारोबार प्रणालीमा आएको प्राविधिक समस्याले धितोपत्र बजारको कारोबार नै रोकिएपछि नेपाल धितोपत्र बोर्डले घटनाको गम्भीर अध्ययन थालेको छ ।

    एउटै तथ्यांक केन्द्रमा देखिएको समस्याका कारण ठूलो संख्यामा धितोपत्र व्यवसायी प्रभावित भएपछि बोर्डले नेप्सेको प्राविधिक पूर्वाधार र प्रणालीको विश्वसनीयतामाथि अध्ययन अघि बढाएको हो ।

    बोर्डका अनुसार २०८३ असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको काम गर्न अनुमति पाएका ९२ कम्पनीमध्ये ७२ व्यवसायीको सर्भर राखिएको तथ्यांक केन्द्रमा प्राविधिक समस्या देखिएको थियो। उक्त समस्या समयमै समाधान हुन नसक्दा असोज ५ गते धितोपत्र कारोबार नै स्थगित गर्नुपर्ने अवस्था आएको थियो ।

    ठूलो संख्यामा धितोपत्र व्यवसायीको सर्भर प्रभावित हुँदा कारोबार प्रणालीमा परेको प्रभाव र त्यसपछि बजार नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनुको कारणबारे बोर्डले चासो देखाएको हो ।

    कारोबार रोकिएपछि छानबिन

    कारोबार स्थगित हुनुपर्ने अवस्था किन र कसरी सिर्जना भयो भन्ने विषयमा अध्ययन तथा जाँचबुझ गर्न बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली गठन गरेको छ ।

    टोलीले नेप्सेको प्राविधिक संरचना, तथ्यांक केन्द्रमा देखिएको समस्या तथा त्यसले धितोपत्र कारोबारमा पारेको प्रभावबारे अध्ययन गर्नेछ। साथै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका विषयसमेत टोलीले पहिचान गर्नेछ ।

    बोर्डले घटनालाई केवल तत्कालीन प्राविधिक समस्या समाधान गर्ने विषयका रूपमा मात्र नहेरी कारोबार प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउने उपाय पहिल्याउन अध्ययन अघि बढाएको जनाएको छ ।

    असोज १२ भित्र प्रतिवेदन बुझाउन निर्देशन

    धितोपत्र बोर्डले नेप्सेलाई कारोबार स्थगित हुनुपर्ने अवस्था सिर्जना हुनुको कारण, प्राविधिक समस्याको प्रकृति तथा त्यसको समाधानका विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

    बोर्डले आगामी असोज १२ गतेभित्र सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई स्पष्ट निर्देशन दिएको हो। प्रतिवेदनमा भविष्यमा यस्ता प्राविधिक समस्या दोहोरिन नदिन अपनाउनुपर्ने आवश्यक व्यवस्था र सुधारका उपायसमेत समेट्न भनिएको छ ।

    प्रणालीको विश्वसनीयतामाथि प्रश्न

    धितोपत्र बजारमा कारोबारका लागि प्राविधिक प्रणाली महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको अवस्थामा ठूलो संख्यामा धितोपत्र व्यवसायी प्रभावित भएर कारोबार नै रोक्नुपर्ने अवस्था आउनुले प्रणालीको निरन्तरता र जोखिम व्यवस्थापनको विषयलाई पुनः चर्चामा ल्याएको छ ।

    बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार निरीक्षण टोलीले दिने सुझावका आधारमा नेपालको धितोपत्र बजारलाई थप स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन आवश्यक कार्य अघि बढाइनेछ ।

    उनका अनुसार प्राविधिकलगायतका समस्या पहिचान गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका लागि बोर्डले प्राप्त सुझावलाई आधार बनाउनेछ ।

    नेप्सेमा आएको पछिल्लो प्राविधिक समस्याको अध्ययनबाट कारोबार प्रणाली, तथ्यांक केन्द्र तथा धितोपत्र व्यवसायीका प्राविधिक पूर्वाधारलाई थप सुरक्षित र भरपर्दो बनाउनुपर्ने विषयमा समेत आवश्यक सुधारको बाटो तय हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images