कार्यदलले खोज्यो ओली-नेपाल समझदारी
काठमाडौं । नेकपा एमालेको बिबाद समाधान गर्न गठित वार्ता टोलीले तयार पारेको मस्यौदाप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । आफू पक्षधर ५ वार्ता टोली सदस्यहरुलाई आइतवार विहान बोलाएर नेपालले मस्यौदाप्रति असन्तुष्टी जनाएका हुन् ।
स्रोतका अनुसार नेपालले केपी ओलीको एकल अधिकार रहनेगरि एमाले एकताको कुनै अर्थ नहुने र ओलीले आफू अनुकुल हुनासाथ धोखा दिने बताएका छन् ।
यस्तै ,वार्ता टोलीका एक सदस्यका अनुसार सहमतिको मस्यौदामा एक बुँदा थपेर माधव नेपाल पार्टीको दोस्रो अध्यक्ष रहने कुरा उल्लेख नहुँदासम्म नेपाल सहमत नहुने देखिएको बताए ।
विधानमै नरहेको दोस्रो अध्यक्षको कुरा वार्ता टोलीले टुंगो लगाउन नसक्ने भएकाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच शीर्ष तहमा सहमति हुनुपर्ने वार्ता टोली सदस्यहरुको भनाइ छ । ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन यसअघि तयार भइसकेको दावी समेत नेपाल पक्षका नेताहरुको छ ।
ओलीले आफू पक्षधर वार्ता टोली सदस्यहरुलाई दोस्रो अध्यक्षमा सहमति दिएमा तत्कालै एमालेको आन्तरिक एकता टुंगिने नेताहरु बताउछन् । नेपालले पार्टीमा अध्यक्ष ओलीले विधि पद्दति मिचेर स्वेच्छारी निर्णय गर्ने भएकाले संस्थागत ढंगले चलाउन आफ्नो समेत हस्ताक्षरमा सबै निर्णय हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाएका छन् ।
दोस्रो अध्यक्षको कुरा कार्यदलमा औपचारिक रुपमा प्रवेश गरिसकेको छैन र यो हामीले टुंगो लगाउने विषय पनि होइन । शीर्ष तहमा शत्तिः बाँडफाँटको सहमति भयो भने बेग्लै कुरा हो । अहिले हामी कार्यंदलले तयार पारेको मस्यौदाको भाषामै केन्द्रित छौं- कार्यदलका एक सदस्यले भने ।
अदालत प्रभावित पार्ने कुरा :
माधव नेपाल सर्वोच्चको फैसलाअघि कुनै सम्झौता गर्ने पक्षमा नरहेको बताइएको छ । । नेपालले सर्वोच्चको फैसलापछि पार्टीले संस्थागत रुपमा निर्णय गरेर एमाले नेतृत्वको सरकारको संवैधानिक निरन्तरताका लागि सामुहिक प्रयत्न्न गर्ने बताइएको छ ।
यस्तै प्रधानमन्त्री ओली भने सर्वोच्चको फैसलाअघि नै हुनुपर्छ भन्नेमा छन् । ओलीकले सर्वोच्चलाई एमाले एक भएको सन्देश दिने र त्यसले फैसला प्रभावित पार्ने उद्देश्य रहेको भएपनि पनि नेपालले यस्तो नचाहेको बताइएको छ ।
मस्यौदामा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिइएको हस्ताक्षर फिर्ता लिने कुरा उल्लेख छैन । तर एमाले एकताबद्ध भएपछि कुनै पनि गठबन्धनमा एमाले नरहेको प्रष्ट हुने खालको आशय व्यक्त गरिएको छ । त्यसमा नेपाल अशन्तुष्ट छन् -नेपाल पक्षका एक सदस्यले भने ।
यसबारे ओली पक्षका एक नेताले भने, ‘आजै सहमति गर्ने भनेको एमालेका १२१ जना विघटित प्रतिनिधिसभाका सदस्य एक ठाउँमा छन् र सर्वोच्चले संसद विघटन बदर गरे पनि सरकार एमालेकै नेतृत्वमा बन्छ भन्ने सन्देश दिने नै हो । एमाले मिल्दा सर्वोच्चको फैसला प्रभावित हुन्छ भने यस्तो त हामी गरिरहन्छौं ।’


विश्व खबर 




















