रुपन्देही– रुपन्देहीमा पेस्तोल र चार राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका–२ का ४४ वर्षीय अजय चौधरी रहेका छन् ।
प्रहरीका अनुसार चौधरीले चोरीका मोटरसाइकलमा नक्कली कागजात तयार गरी बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा निगरानी बढाइएको थियो ।
सोही क्रममा प्रहरी टोलीले आज साँझ सिद्धार्थनगर नगरपालिका–७ स्थित विद्या पथमा चेकजाँच गर्दा चौधरीको साथबाट हातहतियार तथा गोली बरामद गरेको हो ।
प्रहरीले चौधरीको साथबाट टाइप–५४ जस्तो देखिने पेस्तोल एक थान र त्यसमा लाग्ने चार राउण्ड गोली, एउटै फोटो भएका ब्लुबुक दुई थान तथा चार थान भारतीय आधार कार्ड बरामद गरेको जनाएको छ ।
बरामद हातहतियार तथा अन्य सामग्री कानुनबमोजिम नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















