काठमाडौं– आज सङ्घीय संसदक दुवै सदनको बैठक बस्दैछ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेदेखि र राष्ट्रिय सभाको बैठक १:१५ बजेदेखि सुरू हुने संसद सचिवालयले जानकारी दिएको छ ।
आजको प्रचिनिधि सभा बैठकमा सभामुख डीपी अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसुची रहेको छ ।
त्यस्तै आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले ’बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका छ ।
त्यसैगरी प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ’राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
त्यसैगरी राष्ट्रिय सभाको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।
त्यस्तै आज कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ’सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ’सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।


विश्व खबर 



















