काठमाडौं– स्वास्थ्य, पर्यटन र पर्यावरण संरक्षणको सन्देशसहित सक्रिय हिमालय राइडर्स सोसाइटी, हेटौँडाको टोलीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लमजुङको घलेगाउँसम्म साइकल यात्रा गरेको छ ।
लमजुङ साइक्लिङ संघले आयोजना गरेको प्रथम ‘टुर दी लमजुङ’ कार्यक्रममा हिमालय राइडर्स सोसाइटीका तर्फबाट ५० जना साइकल यात्री सहभागी भएका हुन् । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट गरी करिब ४७५ जना साइकल यात्री सहभागी भएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिए ।
साइकल यात्रामार्फत पर्यटनको सन्देश
अध्यक्ष थापाका अनुसार यात्राका क्रममा देशभरबाट सहभागी साइकल यात्रीलाई हेटौँडा तथा आसपासका पर्यटकीय गन्तव्यबारे जानकारी गराउँदै ती क्षेत्रको भ्रमणका लागि आग्रह गरिएको थियो ।
साइकल यात्रालाई केवल मनोरञ्जन वा शारीरिक अभ्यासमा सीमित नराखी पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणसँग जोडेर अघि बढाउने उद्देश्य रहेको सोसाइटीले जनाएको छ ।
घलेगाउँदेखि झरनासम्म अवलोकन
प्रवर्द्धनात्मक यात्राका क्रममा लमजुङ सदरमुकाम बेँसीसहरसहित घलेगाउँ, हामखोल झरनालगायत विभिन्न पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन गरिएको अध्यक्ष थापाले बताए ।
स्थानीय पर्यटकीय क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक विशेषता प्रत्यक्ष रूपमा अनुभव गर्नुका साथै ती गन्तव्यको प्रचारप्रसारमा साइकल यात्रामार्फत योगदान पुर्याउने उद्देश्य रहेको उनको भनाइ छ ।
रसुवागढीदेखि ठोरीसम्म ४०० किलोमिटर यात्रा
विसं २०७८ देखि संस्थागत रूपमा पर्यटन प्रवर्द्धन तथा साइकल यात्राका गतिविधि गर्दै आएको सोसाइटीले यसअघि रसुवागढीदेखि ठोरीसम्म करिब ४०० किलोमिटरको साइकल यात्रा गरेको थियो ।
त्यस्तै, सोसाइटीले मेची–महाकाली साइकल यात्रासहित गढीमाई मन्दिर, धरानको चतराधाम र चितवनको सोमेश्वरगढीलगायत धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा समेत सहभागिता जनाएको छ ।
अघिल्लो वर्ष सोसाइटीका तर्फबाट ४६ जनाको टोलीले ‘टुर दी पोखरा’ कार्यक्रममा सहभागिता जनाएको थियो ।
हेटौँडाका पर्यटकीय गन्तव्यमा पनि जोड
सोसाइटीले हेटौँडा र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई समेत निरन्तरता दिँदै आएको जनाएको छ ।
हेटौँडाको हटिया जुरेथुमस्थित ४२ फिट अग्लो कृष्णमूर्ति, हर्नामाडीको खुला मूर्ति सङ्ग्रहालय, चुरियामाई, मनकामना डाँडा, सुकौलीलगायत प्राकृतिक, धार्मिक तथा ऐतिहासिक स्थलको प्रचारप्रसारमा सोसाइटीले साइकल यात्रालाई माध्यम बनाउँदै आएको अध्यक्ष थापाले बताए ।
साइकल यात्राका माध्यमबाट देशका विभिन्न क्षेत्रका पर्यटकीय गन्तव्यमा पुग्ने, स्थानीय पर्यटनबारे जानकारी आदानप्रदान गर्ने र स्वस्थ जीवनशैली तथा पर्यावरण संरक्षणको सन्देश फैलाउने गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने सोसाइटीले जनाएको छ ।


विश्व खबर 



















