काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केही अवसरबादी, स्वार्थी आलैची तत्वहरुले कु- प्रचार गरी पाटीलाई बदनाम गराउने कार्य गरेको आरोप लगाएको । संबिधान, कानुन बिधि , बिधान विपरित दुष्प्रचार गर्न खोजिएकाले भ्रममा नपर्न नेता र कार्यकताहरुलाई आग्रह गरेको छ । माओवादी केन्द्रले आजै निकालेको बिज्ञप्तीमार्फत यस्तो बताएको हो ।
माओवादी केन्द्रले सरोकार नै नभएका व्यक्तिहरुले माओवादी केन्द्र खारेजीको माग गरिनु हाँस्यास्पद भएको पनि बताएको छ । पूर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि माओवादी केन्द्रले यस्तो बताएको हो ।
‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हाँस्यास्पद देखिन्छ’, माओवादी केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानुन, विधि, विधान विपरित दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।’
शुक्रबार मात्रै पूर्व माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोग पुगेर छिट्टै निर्णय गर्न आग्रह गरेका छन् । बुधवार माओवादी केन्द्र अवैधानिक भन्दै उजुरी दर्ता गराएका नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत आज आयोग पुगेका थिए । उनीहरुले आफूहरुले दर्ता गराएको निवेदनबारे छिट्टै निर्णय गर्न आग्रह गरेका हुन् । निर्वाचन आयोगले आफूहरु निवेदन अध्ययनकै क्रममा रहेको जवाफ दिएको आयोग पुगेका पूर्व माओवादी नेताहरुले बताएका छन् ।
नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिदा नेकपा एमाले प्रवेश गरेका जनप्रतिनिधि कारबाहीमा परेका थिए । प्रतिनिधिसभाबाट रायमाझी, लेखराज भट्ट, साह, गौरीशंकर चौधरी र राष्ट्रिय सभामा रामबहादुर थापा ‘बादल’, चन्द्रबहादुर खड्कालगायत कारबाहीमा परेका थिए । उनीहरुले समयमा महाधिवेशन नगरेको पार्टीले जनप्रतिनिधिलाई कारबाही गर्न नमिल्ने भन्दै पार्टी खारेजको माग गरेका हुन् ।



विश्व खबर 




















