काडमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । केही दिनयता लगातार बस्दै आएको कार्यदलको बैठक आज को वैठक निर्धारित समय भन्दा करिब डेढ घण्टा ढिला शुरु भएको छ ।
बिहान साढे ११ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बोलाइएको बैठक भर्खरै शुरु भएको हो । ।विहीबार साँझ माधव नेपाल पक्षका नेताहरु आक्रोशित बनेपछि आज अध्यक्ष केपी शर्मा ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुबीच अनौपचारिक छलफलमा जुटेका थिए ।
‘आज उहाँहरु केही नरमरुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ माधव नेपाल पक्षका एकजना कार्यदल सदस्यले भने,‘ फागुन २३ यता उहाँहरुले गरेका एकलौटी निर्णयहरु सबै खारेज हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो, हस्ताक्षर फिर्ताको त च्याप्टर नै क्लोज भइसक्यो ।’
आज बस्ने कार्यदलको बैठकमा सहमति जुटेपछि फेरि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच होटल मेरियटमा भेट वार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने एक नेताले बताए ।
यसअघिका बैठकमा सहमतिको नजिक पुगेको बताउँदै आएका नेताहरुले बिहीबार बेलुका बसेको बैठकपछि भने १० दिनयता खासै प्रगति हुन नसकेको बताएका छन् । हिजोको बैठपछि नेपाल पक्षका कार्यदलका नेता घनश्याम भुसालले कुनै प्रगति हुन नसकेको बताएका थिए ।
तर ओली पक्षका नेताहरुले भने वैठक सकारात्मक रहेको र चाँडै नै विवाद समाधनतर्फ अघि बढेको बताउँदै आएका छन् ।
एमालेभित्रको विवाद मिलाउन दुई पक्षबाट ५–५ जना सदस्य रहेको १० सदस्यीय कार्यदलले केही दिनयता सिंहदरबारस्थित अर्थमन्त्रालयमा वार्ता गर्दै आइरहेको छ । १० दिनयता विभिन्न छलफल र वार्ताहरु भए पनि निश्कर्ष निस्कन सकेको छैन ।
विहीबार साँझको छलफलपछि माधव पक्षका नेताहरुले वार्ताबाट कुनै प्रगति नभएको, ओली पक्षले ठोस प्रस्ताव नल्याएको र अदालतको मुद्दालाई प्रभावित बनाउन र अल्मल्याउन मात्रै खोजेको आरोप ओली पक्षमाथि लगाएको थियो ।


विश्व खबर 




















