images
images
  • एमाले विवाद समाधानका नेताहरु छलफलमा: ओली पक्ष बालुवाटारमा, माधव पक्ष सिंहदरबारमा

    काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी एमालेको कार्यदलका सदस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् ।

    माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु बालुवाटारतिर लागेका छन् ।

    पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ । विहीबार पनि बिहान ११ बजेपछि कार्यदलको बैठक बसेको थियो । तर, केही समय आन्तरिक गृहकार्य गर्ने भन्दै बैठक रोकिएको छ ।

    आपसी छलफल गरेर साँझ ७ बजे पुनः बैठक बस्ने तयारी छ । आजै सहमति जुटाउने र ओली–माधवको संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गर्ने प्रयासमा एमालेका दोस्रो तहमा नेताहरु सक्रिय बनेका छन् ।

    यही क्रममा बुधबार राति मेरियट होटलमा केपी ओली र माधवकुमार नेपालवीच वार्ता भएको थियो । वार्तामा दुबै नेताहरु आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेको थिएन ।

    पार्टी एकताका आधारहरु खोज्नका लागि गठित एमाले कार्यदलमा केपी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् । त्यस्तै, माधव समूहबाट भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।

    विहीबार बिहानको बैठक सकिएपछि कार्यदलका सदस्यमध्ये अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल आफ्नै कार्यकक्षमा रहेका छन् भने माधव समूहका पाँचैजना नेताहरु अर्थ मन्त्रालयमै आन्तरिक छलफलमा जुटेका छन् ।

    सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल बालुवाटारतिर लागेका छन् ।​

    प्रतिक्रिया दिनुहोस्
    images
    images