काठमाडौ । नेकपा एमालेको बिबाद समाधानका लागि गठित एमाले कार्यदलको आजको वैठक साँझ बस्ने गरी स्थगित भएको छ ।
आन्तरिक गृहकार्य गर्नका लागि भन्दै कार्यदलको बैठक स्थगित भएको हो । सिंहदरबारमा आज ढिला गरी शुरु भएको वैठक बिहीबार साँझ सात बजे पुनः बस्ने गरी स्थगित भएको हो ।
एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको जानकारी दिएका छन् । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।
माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आज आधा घण्टा ढिला शुरु भएको थियो ।
कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए । सो भेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको थियो ।
बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसके पनि कार्यदलले छलफललाई निरन्तरता दिएको छ । कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइए पनि कार्यदलमा आज सहमति हुन सक्ने दावी गरेका छन् । सहमति जुटाउने प्रयासको स्पिरिट नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ ।


विश्व खबर 




















