images
images
  • एमाले एकता सहमतिनजिक , आज पनि कार्यदलको बैठक बस्दै

    काठमाडौं , असार २४ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि भएका बैठकमा छलफल हुन बाँकी विषयमा आजको बैठक केन्द्रित हुने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो ‘वान टु वान’ वार्ता भएको थियो । “उहाँहरूको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले उठेर हिँड्नु भएको छ । बाँकी कुरा कार्यदल बैठकमा हुन्छ,” नेता पाण्डेले भने ।

    बुधबार साँझ ओली र नेपालबीच मेरियट होटेलमा दोस्रो तहका नेताहरूसहित भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको नेता भीम रावलले जानकारी दिए ।

    यता सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद र कुराकानी भएको छ ।

    होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन माझामाझ भएपछि एमाले अब एकजुट हुने संकेत देखिएको हो । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मतभेद नभए पनि उनीहरू दुईमा देखिएको व्यक्तिगत टकरावका कारण पार्टी फुटको सँघारमा पुगेको थियो ।

    तर दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल पार्टीको विवाद समाधान गर्न तत्पर देखिएका हुन् । कार्यदलका सदस्यसँग दुवैको सामूहिक भेटघाट र छलफल भएपछि ओली नेपाल ‘वान टु वान’ वार्तामा बसेका थिए ।

    वार्ताबाट सहमति गरी पार्टी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रूप दिने सहमति भएको जनाइएको छ । ओली र नेपालबीच विभिन्न विषयमा छलफल भए पनि बुधबार नै सहमति भने जुट्न सकेन । यद्यपि, विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरू लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images