काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गरेका छन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली अर्पण गर्न मंगलबार जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
यसअघि पनि संसद विघटन हुँदा अदालतले नै संसद पुनर्स्थापना गरेको जिकिर गर्दै उनले फेरि पनि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने बताए। यसअघि पनि संसद विघटन हुँदा सर्वोच्च अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद पुनर्स्थापना गर्छ भन्ने हामीलाई विश्वास छ।’ उनले भने
उनले भने, ‘संसद पुनर्स्थापना मात्रै गर्दैन, सर्वोच्च अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने हामीलाई विश्वास छ।’
उनले संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनःस्थापनाको विकल्प नरहेको बताए । ‘संसद पुनर्स्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचे पनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ त्यतातर्फ म कल्पनासम्म गर्न सक्दिनँ,’ उनले भने
एक प्रश्नमा अध्ययक्ष प्रचण्डले प्रधानमन्त्री ओली सर्वोच्च अदालतलाई दवाब दिन खोजे आरोप लगाए। ‘यसले उनी निरंकुशतातर्फ थप अग्रसर हुँदै छन् भन्ने् प्रमाणित भई रहेको छ’, प्रचण्डले भने, ‘उहाँ निरंकुशता तर्फ अगाडि बढ्दै हुनुहुन्छ, उहाँ नेपाली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र बिरोधी तत्वको रुपमा रहेको उजागर भईसकेको छ, उहाँले गरेर केही हुनेबाला छैन।’
एक अर्को प्रसंगमा उनले संविधान त्रूटीपूर्ण रहेको स्वीकार गर्दै संविधान संशोधनको पक्षमा आफू रहेको बताए। उनले संविधान त्रुटीपूर्ण रहे पनि वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा गर्ने दायित्व हाम्रै रहेको बताए।
यता सोमबार राति १० बजे निधन भएको माओवादीका केन्द्रिय सदस्य महादेव यादवको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।


विश्व खबर 




















