काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जोर-बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन संचालनमा आएका छन् ।
उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । नयाँ आदेशानुसार यसअघि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ ।
निषेधाज्ञा कायमै रहे पनि सबै प्रकारका सवारी साधनहरु चल्न थालेपछि काठमाडौं उपत्यकामा भीडभाड बढेको छ । आवागमन खुला भएसँगै मुख्य-मुख्य चोकहरुमा सवारी साधनहरुको जाम देखिन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आजबाट जोर-बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन संचालन हुन दिने निर्णय गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलका अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने, चालक तथा सहचालकले भाइजर र पञ्जाको प्रयोग गर्नुपर्नेछ । यस्तै सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनलाई हरेक दिन निसंक्रमण गर्नुपर्नेछ । मास्क नलगाएका यात्रुलाई चढाउन नपाइने नियम पनि छ ।
सफा टेम्पो र तथा निलो माइक्रोबसलाई पछाडिको तेर्सो सिटमा चाररचार र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ । गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउनुपर्नेछ ।
अत्यावश्यक वस्तुको अनलाइन ‘अर्डर’, रेष्टुरेन्ट तथा फाष्टफुड एवं अन्य अर्डरको टेकअवे र होमडेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ ।
सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्नेछ ।
आदेशमा भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्मका लागि खुला गरिएको छ ।
सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा भने पूर्ण रोक लगाइएको छ । यस्तै पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिक रूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधि समेत गर्न पाइने छैन ।
स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधनसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ । जोरबिजोर प्रणाली हटेसँगै यसअघि सुनसान देखिने काठमाडौँका सडकमा पुनः जाम सुरु भएको छ ।
आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ ।


विश्व खबर 




















