काठमाडौ । ९ दिनदेखि हराईरहेकी युवतीको शव भेटिएपछि हत्या भएको आंशकामा अनुसन्धानको माग गरिएको छ । राप्ती नगरपालिका–३ झुरझुरेकी २२ वर्षीया सुजिता भण्डारीकोे शव आइतवार साँझ फेला परेको थियो ।
घरबाट चार किलोमिटर पर ब्रम्हस्थानी सामुदायिक वनको झाडीमा उनको शव भेटिएको स्थानीयले जनाएका छन् । मृतककी आमा अम्बिका भण्डारी छोरीको ‘अपहरण’ पछि हत्या भएको दाबी गछन् ।
“आफू अपहरणमा परेको भन्दै फोन गरेर गुहार मागेकी छोरीलाई बचाउन सकिएन”, उनले दुखेसो पोख्दै भने, “छोरीको हत्यारा पत्ता लगाएर सजाय दिलाउन आवश्यक छ ।” छोरी अपहरणका दिन आफूहरु धान रोप्न गएको र छोरीले दिउसो आफ्नी दिदीलाई फोन गरेको उनको भनाइ छ ।
“घरबाट हराएकी छोरीले १२ बजे दिउँसो दिदीलाई कल गरिछे । आँखामा पट्टी बाँधेको छ, एसिड छर्केको छ, टाउकोमा हिर्काको छ, मलाई कता लगे कता, छिटो बचाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजीतलास भयो । नानी भेटिइन्”, सञ्चारकर्मीहरुसँग आमाले रुँदै भनिन् ।
प्रत्यक्ष दर्शीहरुका अनुसार सुजिताको शव सडे गलेको अवस्थामा भेटिएको छ । परिवारले पहिचान गरेपछि मात्रै मृतकको पहिचान भएको बताइन्छ ।
सुजिता प्रकरण हत्या नै भएको भन्दै स्थानीय बासिन्दाले पनि घटनाको छानबिन र दोषी उपर कारवाहीको माग गर्दै अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
राजमार्गको राप्ती नगर पालिका वडा नम्वर ३ झुरझुरेमा स्थानीयको विरोधमा यातायात ठप्प भएपछि सम्झाई बुझाइ राजमार्ग खुला गर्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराईले जानकारी दिए ।
“पोष्टमार्टमका लागि भरतपुर ल्याउन लागेको शव नै रोकेर अहिले विरोध प्रर्दशन भइरहेको छ । पहिला त राजमार्ग खोल्नुपर्यो”, उनले भने । शवको पोष्टमार्टम र घटनाका बारेमा अनुसन्धान प्रक्रियामा नै अगाडि बढ्ने पनि उनले जनाए ।


विश्व खबर 




















