दमौली । तनहुँमा गत वर्षको बाढीपहिराले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले रकम निकासा गरेको छ । गत वर्षको असारमा आएको बाढीपहिराले भत्किएका घर पुनर्निर्माण गर्न राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा रु. १करोड ५१ लाख आठ हजार ७५० प्राप्त भएको बताइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पछि लाभग्राही कायम गर्दा रकम बढी भएमा फिर्ता गर्ने शर्तमा२४७ घर को पुनर्निर्माणका लागि लाग्ने रकम निकासा गर्न माग गरिएको थियो ।
बाढीपहिराले व्यास नगरपालिकामा ७७, भानु नगरपालिकामा ३२, शुक्लागण्डकी नगरपालिकामा २१, भिमाद नगरपालिकामा २९, आँबुखैरेनी गाउँपालिकामा छ, बन्दीपुर गाउँपालिकामा १३, ऋषिङ गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा आठ, देवघाट गाउँपालिकामा १८ र म्याग्दे गाउँपालिकामा ४१ घर पूर्ण क्षति भएका थिए ।
ती घरपरिवारको सर्वेक्षण गरी लाभग्राही यकिन गर्न स्थानीय तहमा कार्यरत प्राविधिकलाई तालीम प्रदान गरी स्थानीय तहहरुबाट खटाइएको छ । सर्वेक्षण गरी विवरण प्राप्त नभएको बरालले बताए । “चालु आर्थिक वर्ष अन्त्य हुन लागिरहेको अवस्थामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबाट बेहोर्नु पर्ने अनुदानको रकम माग गरी जिल्ला विपद् कोषमा जम्मा गर्नुपर्ने अवस्था छ,” उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले लाभग्राही पहिचान गरी स्थानीय तहले नपठाएपछि स्थानीय तहलाई रकम निकासा गर्न ढिलाइ भएको जानकारी दिए । “केन्द्रबाट पैसा आयो तर स्थानीय तहबाट विवरण प्राप्त भएको छैन,” उनले भने, “लाभग्राही पहिचान गरेर स्थानीय तहले पठाएपछि स्थानीय विपद् व्यवस्थापन समितिको खातामा रकम पठाउछौँ ।”
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले गाउँपालिकाबाट लाभग्राही पहिचान गरी ४१ घरधुरीको विवरण पठाइएको जानकारी दिए। उनका अनुसार घर पुनर्निर्माणका लागि स्थानीय तहबाट रु १६ लाख ४० हजार लागत साझेदारी गर्नुपर्नेछ ।
व्यास नगरपालिकाले बाढीपहिराले भत्किएका घर पुनर्निर्माणका लागि जिल्ला विपद् कोषमा साझेदारीबापतको रु १५ लाख ५० हजार रकम जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
लाभग्राहीले पाउने रकमको १५ प्रतिशत सम्बन्धित तहले बेहोर्नु पर्ने कार्यविधिअनुसार नगरपालिकाले तीन किस्तामा रकम जम्मा गर्ने भएको छ । गत वर्ष व्यासमा ७७ घर बाढीपहिराले भत्किएका थिए ।


विश्व खबर 




















