काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि माधव नेपालले आफूनिकट सांसदसँगहरुसँग छलफल गरेका छन् ।
शनिबार दोस्रो तहका नेताहरु पार्टी एकताको लागि सहमतिको मस्यौदा बनाउन वार्तामा रहेका बेला नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेका हुन् ।
माधव नेपाल पक्षका २३ जना विघटित प्रतिनधिसभाका सदस्यहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्तामध्ये जुम बैठकमा सहभागी सबैले कुनै पनि हालतमा देउवालाई दिएको समर्थन फिर्ता लिन नहुने बताएको विघटित प्रतिनिधिसभाका सदस्य झपट रावलले जानकारी दिए ।
‘पार्टी एकता र हस्ताक्षरको कुनै सम्बन्ध छैन । जुन संसद र सांसद नै उहाँलाई चाहिएन, अहिले उनीहरुको हस्ताक्षर फिर्ता किन चाहियो ? एमालेलाई जेठ २ मा जस्ताको तस्तै फर्काएर बैठक बोलाउन कसले रोक्यो ? फेरि पनि झुक्याउने खेल हो यो सबै ।’ उनले भने–
सांसदहरुले हस्ताक्षर कुनै पनि हालतमा फिर्ता लिन नहुने अडान राखेपछि माधव नेपालले पार्टी एकतामा आफू बाधक भएको भनेर सुनियोजित हल्ला चलाइएको बताएका थिए । नेपालले आफू हिजो सम्पर्कविहीन भएको भनेर हल्ला चलाइएको भन्दै आपत्ति जनाएका थिए ।


विश्व खबर 




















