काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोन कुराकानी भयो ।
नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले भने बैठकमा सहभागी हुन निम्तो दिएका थिए ।
ओली र नेपाल आ–आफ्नो अडानमा कायमै छन् । अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए । उक्त बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको अल्टिमेटम दिएका हुन् ।
अध्यक्ष ओलीले शनिबार पनि बैठक बोलाएका छन् । तर माधव नेपाल समूह यो बैठक अवैध भएको सहभागी नहुने अडानमा छ । दुवै नेता अडानमा कायमै रहँदा संकटमा परेको एमाले एकता जोगाउन भने दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।
ओली र नेपालको फोन कुराकानी लगत्तै समिट होटलमा ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यसँग छलफल गरेका थिए ।
माधव नेपाल पक्षका नेताहरुले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नहुने बताउँदै यसबारे सर्वोच्च अदालतले जे निर्णय गर्छ, त्यहीअनुसार अघि बढ्नुपर्ने अडान राखेका छन् । यसबारे ‘केपी ओलीसँग कुरा गर्छौं’ भन्दै ओली पक्षका तीन नेता समिट होटलबाट बाहिरिएका छन् ।
हस्ताक्षर फिर्तालाई सहमतिको पूर्वशर्त नबनाउन शंकर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरु सहमति देखिएको र अब उनीहरुले यसमा अध्यक्ष ओलीलाई सल्लाह गर्ने समिट होटलमा समझदारी बनेको एक नेताले दाबी गरे ।
शुक्रबारदेखि सुरु भएको केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बालुवाटारमा जारी छ ।
ओली पक्षले हस्ताक्षर फिर्तालाई पार्टी एकताको पहिलो शर्त बनाएको छ भने माधव पक्षले चाहिँ हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताउँदै जेठ २ को संरचनामा केन्द्रीय कमिटीको बैठक बस्नुपूर्व प्याकेजमा हुनुपर्ने अडान राखेको छ ।


विश्व खबर 




















